logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

`लिफ्टर’ ताेफा र `स्पाइकर’ नेहाकाे जाेडी, जसले लक्ष्मीनाथलाई उपाधि चुमाए


  • उज्यालो अभियान

लुम्बिनी कप अन्तर्गत खेल मैदानमा पाेजिसनमा देखिएका ताेफा खातुन (बायाँ) र नेहा चाैधरी । (तस्बिर साैजन्य : ताेफा/नेहा)

बुधबार बारालाई हराउँदै उपाधी जितेकाे लक्ष्मीनाथ युवा क्लबकाे महिला भलिबल टिम । (तस्बिर : उज्यालाे अभियान)

टंक बहादुर क्षेत्री/हरिपुर, २ चैत – सर्लाहीको हरिपुर नगरपालिका अन्तर्गत ऐतिहाँसिक धार्मिक स्थल चितायन मन्दिरमा आयोजित ‘चितायन महोत्सव २०८०’ मा लक्ष्मीनाथ युवा क्लबले आयोजना गरेको प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि सर्लाहीको महिला टोलीले चुमेको छ । गत बुधबार दिउँसो सम्पन्न फाइनल प्रतिष्पर्धामा बाराको कोल्हबी स्थित जनशक्ति क्लबलाई ३-२ को सेटमा पराजित गर्दै आयोजक लक्ष्मिनाथ युवा क्लबले नगद २० हजार सहित प्रथम उपाधि हात पारेको हो ।

बुधबार बाराकाे काेल्हबी टिम विरुद्द स्पाइक सर्भिस गर्दै नेहा चाैधरी । (तस्बिर : उज्यालाे अभियान)

सप्तरी र बाराबाट एक-एक टिम तथा सर्लाहीबाट आयोजक लक्ष्मीनाथ युवा क्लब र एभरेष्ट बोर्डिङ स्कूल लालबन्दी गरी ४ वटा महिला टिमबीच लिग तथा नकआउटका आधारमा सम्पन्न प्रतियोगिताको उपाधि लक्ष्मीनाथलाई चुमाउन तोफा खातुन र नेहा चौधरीको महत्वपूर्ण भूमिका देखिएको थियो । हुनत अन्य खेलाडीहरुको पनि कम्ता योगदान थिएन, तथापी तोफा र नेहाको उत्कृष्ट प्रदर्शनले शारिरिक रुपमा बलिया विपक्षी बाराका खेलाडीहरुले उपाधि उचाल्न पाएनन् । फाईनलमा पराजित हुन पुग्दा द्वितिय स्थान सहित उनिहरुले नगद १० हजार रुपैंयामै चित्त बुझाउनु पर्यो ।

नेहा चाैधरीलाई स्पाइक गर्न बल लिफ्टिङ गर्दै ताेफा खातुन । (तस्बिर : उज्यालाे अभियान)

लक्ष्मीनाथबाट तोफा र नेहा बाहेक अर्की नेहा चौधरी, आरती चौधरी, रितिका चौधरी, सिमा चौधरी, आशिका कुमर दनुवार, भवानी कुमर दनुवार र ईन्दिरा कुमर दनुवार रहेका थिए । सबै खेलाडीले मेहेनतका साथ खेलेको र तोफा अनि नेहाको जोडी जम्दा लक्ष्मीनाथ युवा क्लब उपाधीको हकदार बनेको भलिबलका पूर्व राष्ट्रिय खेलाडी एवं लक्ष्मीनाथ आधारभूत विद्यालयका प्रधानाध्यापक चेतनारायण धामी बताउँछन् । ‘सबै नानीहरुले मेहेनतका साथ खेलेका कारण लक्ष्मीनाथ युवा क्लब प्रथम भयो’, क्लबका सल्लाहकार समेत रहेका धामीले उज्यालो अभियानसँग भने, ‘अझ बढी तोफाको लिफ्टिङ र नेहाको स्पाइकिङमा लय मिल्दा टिमले जीत निकाल्न सक्यो ।’

ताेफा खातुन । (तस्बिर साैजन्य : ताेफा)

खेल हेरिरहेका अधिकांश दर्शकहरुले पनि नेहाको स्पाईकिङ (पहिला शर्ट भनिन्थ्यो) र तोफाको लिफ्टिङ (पहिला रेज भनिन्थ्यो) बाट बढी आनन्द लिएका थिए । लक्ष्मीनाथले ल्याएको अंकमा मुख्यगरी नेहाले गर्ने स्पाइक सर्भिस कै मुख्य हात थियो । उनी सर्भिसमा पुग्ने वितिकै विपक्षी खेलाडीहरु आत्तिन थाल्थे । स्पाइक बलका कारण नेहाले गरेको अधिकांश सर्भिस बाराका खेलाडीले रेजिङ र डिगिङ नै गर्न भ्याउँदैन थे अथवा गर्दापनि बल अनियन्त्रित भएर बाहिरिन्थ्यो । उनी सर्भिसमा पुग्ने वितिकै अंक तालिकामा अगाडी रहेको बारालाई लक्ष्मीनाथले निकै पछाडी पार्थ्याे ।

बुधबारकाे फाइनल खेलमा विपक्षी विरुद्द बल स्पाइकिङ गर्दै नेहा चाैधरी । (तस्बिर : उज्यालाे अभियान)

हेर्दा साह्रै पातली र सानी कदकी नेहा मैदानको जुनसुकै कुनाबाट स्पाईक गर्न माहिर छिन् । हरिपुर नगरपालिका-७ निवासी २० वर्षीया नेहा सर्लाही क्याम्पस मलंगवामा बीबीए प्रथम वर्षमा अध्ययनरत छिन् । लङ्ग जम्प र ट्रिपल जम्पकी खेलाडी समेत रहेकाले नेहालाई सानो उचाई भएपनि उफ्रेर स्पाइक गर्न सहज भएको हो । पूर्वा चौधरी र जानकी कुमारीकी दुई छोरा र दुई छोरी मध्ये नेहा कान्छी हुन् । स्थानीय महाविर जनता माविमा पढ्दा पढ्दै झण्डै ६ वर्ष अघिबाट एथ्लेटिक्स तथा भलिबल खेल्न सूरु गरेकी नेहा भन्छिन्, ‘अहिले एथ्लेटिक्स र भलिबल दुवै खेलिरहेको छु, राष्ट्रिय, प्रदेश, जिल्ला स्तरीय लगायत खेलहरुमा भाग लिईरहेको छु ।’ विभिन्न स्तरका खेलमा सहभागि हुन काठमाडौं, पाल्पा, कैलाली, सप्तरी, जनकपुर, बारा लगायत विभिन्न जिल्लाहरुमा पुगिसकेकी छिन् नेहा । उनले उत्कृष्ट खेलाडीकाे ट्रफीहरु समेत हात पारेकी छिन् ।

लुम्बिनी कपमा प्राप्त पुरस्कार ग्रहण गर्दै नेहा चाैधरी । (तस्बिर साैजन्य : नेहा)

हरिपुर नगरपालिका-२ निवासी १५ वर्षीया तोफा महाबिर जनता माविमा कक्षा ७ मा पढिरहेकी छिन् । लक्ष्मीनाथलाई उपाधी चुमाउनका लागि तोफाको लिफ्टिङ गर्ने कलाकौशलको ठूलो योगदान रह्यो । खेलभर मैदानको जुनसुकै कुनाबाट बललाई स्पाइकर नेहा समक्ष सहजै लिफ्टिङ गरिदिएकी थिईन्, तोफाले । रेजिङ र डिगिङमा पोख्त देखिएकी तोफाको लिफ्टिङका कारण नेहाले गर्ने स्पाइकिङबाट लक्ष्मीनाथले अंक बटुलिहाल्थ्यो ।

मनिर सफी र रुना खातुनकी कान्छी छोरी तोफालाई आमा रुनाले भलिबल खेल्न प्रोत्साहन गरेकी छिन् । बुबाकाे मृत्यु भईसकेकाले घरकी मुख्य अभिभावक रुना नै हुन् । घर बाहिर निस्कदा बुर्का लगाएर मात्र हिड्नुपर्ने परम्परा रहेको मुस्लिम समुदायकी तोफाले भलिबल खेल्न थालेको २ वर्ष जति भयो । जर्सी लगाएर मैदानमा उत्रदा सूरुमा त अभिभावकले गाली गरेको स्मरण गर्दै तोफाले उज्यालो अभियानसँग भनिन्, ‘सूरुमा त ममी अनि दाईहरुले हाम्रो जातले यसरी खेल्न हुदैन भन्दै गाली गर्नुभयो, तर मैले मान्दै नमानी ढिपी कसेर निरन्तर खेल्न थाले अनि पछि सबैले राम्रो भन्न थाल्नु भएपछि आमा र दाजुहरुले पनि गाली गर्न छाड्नु भयो ।’

आमा रुना पनि पहिला आफूले छोरीलाई नखेल भनेको र पछि सबैजनाले राम्रो हुन्छ भनेकाले तोफाको ईच्छा अनुसार भलिबल खेल्न दिएको बताउँछिन् । ‘के गर्नु मान्दै मानिन अनि म सहित छोराहरुले पनि खेल्न छुट दियौं, अहिले त निकै राम्रो खेल्न थालेकिले खुशी लागेको छ’, गत बुधबार मैदानमै छोरीले खेलेको हेर्न आएकी रुनाले उज्यालो अभियानसँग खुशी प्रकट गर्दै भनिन्, ‘छोरीले खेल जितेको देख्दा साह्रै आनन्द लाग्न थालेको छ ।’ ताेफा पनि खेल्नका लागि नेहासँगै देशका विभिन्न शहरहरु पुगिसकेकी छिन् । उनले पनि खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई जिताउने मात्र हैन भलिबलप्रेमी दर्शकहरुलाई भरपुर मनाेरञ्जन दिईरहेकी छिन् । सानै उमेरमा उत्कृष्ट लय समातेकी ताेफा भविष्यमा नेपाली राष्ट्रिय भलिबल टिमकाे लिफ्टर बनेमा आश्चर्य नहाेला ।

आज शुक्रबार दिउँसाे नै नेहा, ताेफा सहित सर्लाहीबाट ८ जना खेलाडीहरु काठमाडाैंमा हुने अन्तर प्रदेश भलिबल प्रतियाेगितामा मधेश प्रदेशकाे तर्फबाट खेल्न गईसकेका छन् । ताेफाका अनुसार बारा र लक्ष्मीनाथ युवा क्लबका महिला खेलाडीहरुकाे टिमले मधेश प्रदेशकाे प्रतिनिधित्व गर्दै विभागीय टिम सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबसँग शनिबार खेल्दैछ ।

जे होस् तराई-मधेश क्षेत्रमा पछिल्लो समय ओझेलमा पर्दै गएको राष्ट्रिय खेल भलिबललाई टिकाउन लक्ष्मीनाथ युवा क्लब प्रयासरत छ । क्लबले नियमित रुपमा पूरुष र महिला खेलाडीहरुलाई प्रशिक्षण समेत गराईराखेको अध्यक्ष नरहरी धामीले जानकारी दिए । क्लबले हरेक वर्ष चितायन महोत्सवका अवसरमा पूरुष टिमबीच प्रदेश स्तरीय मेयर कप भलिबल प्रतियोगिता गर्दै आईरहेको छ भने यो वर्ष महिला टिमहरुलाई समेत मैदानमा उतारेर भलिबलको जगेर्नामा लागि परेको छ । लक्ष्मीनाथकै कारण नेहा र तोफा जस्ता उदीयमान प्रतिभाहरु जन्मिएका छन् । त्यस्ता प्रतिभाहरुकाे उत्थान र जगेर्ना गर्दै समग्र भलिबल खेलकाे बिकासमा लक्ष्मीनाथ युवा क्लबकाे मात्र एकल प्रयासले सम्भव छैन । त्यसका लागि स्थानीय सरकार सहित प्रदेश र संघीय सरकार अनि सम्बन्धित सरकारी तथा गैर सरकारी निकायले समुचित ध्यान पुर्याउनु जरुरी छ । नेहा र तोफा सहित टिमकै सम्पूर्ण महिला खेलाडीहरुलाई उज्यालाे अभियान मिडियाकाे तर्फबाट भलिबल खेल मार्फत आगामी दिनहरु थप उज्वलमयकाे शुभकामना ।

चिताईन : महिला भलिबलको उपाधि सर्लाहीलाई, पुरुषको हिजो रोकिएको फाइनल आज