बुधबार बारालाई हराउँदै उपाधी जितेकाे लक्ष्मीनाथ युवा क्लबकाे महिला भलिबल टिम । (तस्बिर : उज्यालाे अभियान)
हरिपुर, १ चैत – सर्लाहीको हरिपुर नगरपालिका ७ स्थित चिताईनमा आयोजित महिला भलिबल प्रतियोगिताको उपाधि आयोजक लक्ष्मीनाथ युवा क्लब चिताइनले नै जितेको छ ।
हिजो भएको महिलातर्फको फाइनल खेलमा बाराको जनशक्ति क्लब कोल्बीलाई ३–२ को सेटमा पराजित गर्दै आयोजकको महिला टिम बिजेता बनेको हो । जितसँगै लक्ष्मीनाथको महिला टिमले नगद २० हजार हात पारेको छ ।
उपबिजेता कोल्बीले १० हजार तथा तेस्रो भएको एभरेष्ट एकेडेमी लालबन्दीले ५ हजार प्राप्त गरेको छ ।
पुरुषतर्फको फाइनल खेल भने हिजो स्थगित हुन पुगेको छ । नेपाली सेनाको भैरवी दल गण पाँचकुमारी ब्यारेक र चितवन भलिबल संघबीचको फाइनल खेलको दोस्रो सेटमा अंक गणनाको विषयमा विवाद भएपछि खेल हिजोका लागि स्थगित गरिएको हो ।
पहिलो सेट चितवनले २६–२४ ले जितेको अवस्थामा दोस्रो सेटको सुरुतिरै विवाद भएपछि हिजोका लागि फाइनल खेल स्थगित गरिएको हो । आज बिहान ९ बजेपछि पुरुषतर्फको फाइनल खेल हुने आयोजकका चेतनारायण धामीले बताए ।
पुरुषतर्फको बिजेताले १ लाख र उपबिजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।