ट्रफी ग्रहण गर्दै भैरवीदल गणको टिम ।
चिताईन, १ चैत – नेपाली सेनाको भैरवीदल गणले सर्लाहीको हरिपुरस्थित चिताइनमा आयोजित अन्तर प्रदेश स्तरीय दोस्रो मेयर कप नकआउट भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
आज भएको फाइनल खेलमा चितवन जिल्ला भलिबल सङ्घलाई ३–१ को सेटमा पराजित गर्दै नवलपुरस्थित भैरवीदल गणले प्रतियोगिताको उपाधि उचालेको हो । पहिलो सेट २८–२६ ले जितेको चितवन त्यसपछि लगातार तीन सेटमा पराजित हुँदै उपबिजेतामा सिमित हुन बाध्य भयो ।
भैरवीदल गणले भने दोस्रो सेट २५–१८, तेस्रो सेट २५–११ र चौँथो सेट २५–१८ ले जित्दै उपाधि रक्षा गर्न सफल भएको हो । जितसँगै भैरवीदल गणले एक लाख रुपियाँ नगदसहित ट्रफी उचालेको छ ।

चितवनलाई उपबिजेताको ट्रफी प्रदान गरिँदै ।
दोस्रो भएको चितवनले ५० हजार रुपियाँमा चित्त बुझायो । प्रतियोगितामा भैरवीदल गणका पर्शुराम खत्री वेष्ट स्पाइकर, गणकै सन्जय थापा वेष्ट लिफ्टर, चितवनका निकेश महतो वेष्ट ब्लकर, चितवनकै रुनेश थापा म्यान अफ दी सिरिज र भैरवीदल गणका सन्तोष शर्मा वेष्ट लिब्रो घोषित हुन सफल भए ।
लक्ष्मीनाथ युवा क्लब चिताइनले आयोजना गरेको भलिबल प्रतियोगितामा १० वटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगिता अन्तर्गत महिलातर्फको उपाधि भने आयोजक लक्ष्मीनाथ युवा क्लब चिताइनले जितेको छ । बाराको जनशक्ति क्लब कोल्बीलाई ३–२ को सेटमा पराजित गर्दै महिलातर्फको उपाधि आयोजकले आफ्नै पोल्टामा पारेको हो ।

महिलातर्फको बिजेता चिताईनको टिम ।
पुरुष तथा महिला दुवैतर्फको उपाधि बिजेता, उपबिजेता तथा विधागततर्फका उत्कृष्ट खेलाडीलाई संविधान सभाका सदस्य रामचन्द्र चौधरी, हरिपुर नगरपालिकाका प्रमुख गोपाल पन्जियार, आयोजक क्लबका अध्यक्ष नरहरि धामी, हरिपुर ७ का वडाध्यक्ष मनोजकुमार चौधरी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतो, प्रतियोगिताका संयोजक रामाशङ्कर चौधरी, भैरवीदलका सेनानी कृष्णप्रसाद पन्थलगायत भएर पुरस्कार वितरण गरेका आयोजकका चेतनारायण धामीले जानकारी दिए ।
चिताईन : महिला भलिबलको उपाधि सर्लाहीलाई, पुरुषको हिजो रोकिएको फाइनल आज