प्रतिकात्मक तस्बिर ।
भक्तिपुर, २९ फागुन – सर्लाहीको ईश्वरपुर नगरपालिका–१, चौलिखा बजारमा गएसाँझ आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ ।
स्थानीय जयकिशोर साहको घरमा ग्याँस सिलिण्डर बिष्फोट भएर आगलागी भएको हो । आगलागीबाट साहको एउटा कच्ची घरमा पूर्णरुपमा क्षति पुगेको छ भने सँगै रहेको अर्को जस्तापाताले छाएको पक्की घरको माथिल्लो तलामा क्षति पुगेको प्रहरीले जनाएको छ ।
आगलागीपछि घरको माथिल्लो तलाबाट हाम फाल्दा साहकी बुहारी २२ वर्षीया रुबी साह र छोरी १४ वर्षीया सङ्गिना साह घाइते भएका छन् । उनीहरुको लालबन्दीस्थित मेडिकल ट्रमा सेन्टर बस्तीपुरमा उपचार जारी छ ।
आगलागीमा परेर एउटा भैँसी घाइते भएको छ । दुईवटा बाख्रा जलेर मरेका छन् । गएसाँझ ७ बजेपछि भएको आगलागी गाउँले, सुरक्षाकर्मी र हरिवन तथा मलङ्गवाबाट गएका दमकलको सहयोगमा डेढ घण्टापछि निन्त्रणमा आएको थियो ।
प्रारम्भिक विवरण अनुसार आगलागीबाट ५६ लाख रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ग्याँस लिक भइरहेको र साँझमा साँझ बत्ति बाल्न खोज्दा सिलिण्डर बिष्फोट भएको आशङ्का गरिएको स्थानीयले बताएका छन् ।