logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सिन्धुलीबाट हत्कडीसहित फरार योन्जन हरिवनबाट पक्राउ


  • उज्यालो अभियान

हरिवन, २८ फागुन – दुई साताअघि सिन्धुलीको क्यामनचुलीबाट हत्कडीसहित फरार भएका एक जना गाँजा कारोवारी आज सर्लाहीको हरिवनबाट पक्राउ परेका छन् ।

फागुन १२ गते सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७, क्यामनचुलीबाट सर्लाहीको हरिवन नगरपालिका अन्तर्गत अत्रौलीतर्फ आउँदै गरेको ना ४४ प ६०२९ नम्वरको मोटरसाइकल खानतलासी गर्नेक्रममा सिन्धुलीस्थित प्रहरी चौकी क्यानेश्वरका प्रहरीले चामलको बोरामा लुकाइछिपाइ ल्याउँदै गरेको २० किलो गाँजा बरामद गरेको थियो ।

गाँजा कारोवारीलाई हत्कडी लगाइ गाँजा र मोटरसाइकल नियन्त्रणमा लिनेक्रममा भीरबाट हाम फालेर कारोवारी फरार हुन सफल भएका थिए । खोजतलासका क्रममा प्रहरीले तीन सय मिटर पर तोडेर फालेको अवस्थामा हत्कडी फेला पारेको थियो ।

त्यसरी फरार हुन सफल सर्लाहीको साबिक सासापुर ६ घरभई हाल सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७, बस्ने ४० वर्षीय कृष्णबहादुर योन्जनलाई हरिवन प्रहरीले आज दिउँसो पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा परिचालित प्रहरीले आज दिउँसो पौने २ बजेतिर हरिवन नगरपालिका–११, स्थित हरिवन बजारबाट योन्जनलाई पक्राउ गरेको हो ।

योन्जनलाई आजै सिन्धुली प्रहरीको जिम्मा लगाइसकिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।