logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

वनमा फैलियो डढेलो, नियन्त्रणमा बेवास्ता


  • उज्यालो अभियान

फूलजोर, २८ फागुन – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाही जङ्गल क्षेत्रमा केही सातादेखि लागिरहेको डढेलो फैलँदै गएको छ ।

दिउँसोपख हावाहुरी चल्न थालेसँगै राजमार्ग छेउछाउका घना जङ्गलमा लागेको डढेलो थप क्षेत्रमा बढ्दै गएको हो । डढेलोका कारण वासस्थान गुम्दा वन्यजन्तु समस्यामा परेका छन् ।

राजमार्गको डिल (किनारा) सम्म नै डढेलो सल्किरहेको देखिन्छ । सडकलाई छुने गरी डढेलो सल्किँदा पेट्रोलियम पदार्थ बोकेका सवारी साधन ओहोरदोहार गर्न नै जोखिम हुन थालेको छ ।

दिनानुदिन फैलँदो डढेलो नियन्त्रणका लागि वन कार्यालय र उपभोक्ताले चासो देखाएका छैनन् । वनमा लागेको डढेलो नजिकका घर तथा वन कार्यालयहरुका घाटगद्धीमा सल्कने जोखिम बढेको छ ।

शनिबार मात्रै वनको डढेलो सल्किएर बाँके चोकस्थित सवडिभिजन वन कार्यालयको घाटगद्धीमा आगलागी भएको छ । वन कर्मचारी मात्रैले आगो निभाउन नसकेपछि दमकलको सहयोग लिनुपरेको छ ।

काठ थुपारेर राखिएको ठाउँ (घाटगद्धी) मा मानिसले पानी हालेर तथा हरियो स्याउलाले मात्रै आगो निभाउन नसकेपछि हरिवन नगरपालिकाबाट दमकल मगाएर डढेलो निभाइएको हो । सर्लाहीका डिभिजन वन प्रमुख मन्जुर अहमदले दमकल, वन कर्मचारी, प्रहरी र उपभोक्ता मिलेर घाटगद्धीमा लागेको आगो निभाइएको जानकारी दिए ।

उनले घाटगद्धी वरपर सरसफाईसहित पूर्व तयारी गर्दा गर्दै पनि आगलागी भएको बताए । डिभिजन वन प्रमुख अहमदले सबै ठाउँमा लागेको डढेलो वन कार्यालयले मात्रै निभाउन असम्भव रहेकाले यसमा सबैले सहयोग गर्नुपर्ने बताए । “वन डढेलो भनेको ठूलो विपत्ति हो, वनका कर्मचारीले मात्रै निभाउन सम्भव हुँदैन,” डिभिजन वन प्रमुख अहमदले भने, “यसमा आम उपभोक्ता र वन समितिले पनि भूमिका खेल्नुपर्छ ।”

उनले वनमा डढेलो लाग्न नदिन जनचेतना जगाउनका लागि वर्षेनि प्रचारप्रसारको काम गर्दै आइरहेको बताए । वन प्राविधिकका अनुसार अब सुक्खायामभर वन क्षेत्रमा डढेलो लाग्ने गर्छ ।

डढेलो लगाएपछि पालुवा पलाउने गलत धारणा बोकेर वनमा वस्तुभाउ चराउन जाने चरुवा तथा स्थानीयले डढेलो लगाइदिँदा नियन्त्रणमा चूनौति थपिएको डिभिजन वन प्रमुख अहमदले बताए ।

स्थानीयका अनुसार यो वर्ष अहिलेसम्म पूर्व पश्चिम राजमार्ग क्षेत्र आसपास पर्ने सर्लाही तथा महोत्तरी खण्डको सागरनाथ वन विकास परियोजनाको जङ्गल क्षेत्रमा धेरै नै डढेलो लागिरहेको छ ।