logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

हरिपूर्वामा आइतबारदेखि कार्यालय र विद्यालय खुल्ने


  • उज्यालो अभियान

हरिपूर्वा, २५ फागुन – सर्लाहीको हरिपूर्वा नगरपालिकामा पर्सी आइतबारबाट कार्यालय र विद्यालय संचालन हुने भएका छन् ।

गएको साउनदेखि तलब नपाएको भन्दै यहाँका कर्मचारी माघ २८ गतेदेखि कार्यालय बन्द गरी र शिक्षक फागुन ६ गतेदेखि विद्यालय बन्द गरी धर्नामा बसेका थिए । नगरप्रमुख विनोदकुमार साह तेली र प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद यादवले लामो प्रयासपछि कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा नगरपालिकाको खाता सन्चालनमा आइसकेको र अब जतिसक्दो चाँडो तलब, भत्ता निकासा गर्ने आश्वासन दिएपछि शिक्षक, कर्मचारीले हिजोबाट आन्दोलन स्थगित गरेका छन् ।

अब आइतबारबाट आफूहरु विद्यालय खोलेर नियमित पठनपाठनमा सहभागी हुने केश्वर गरिब जनता माध्यमिक विद्यालय हरिपूर्वा ५ का शिक्षक धनेश्वर साहले बताए । माघ २८ गतेदेखि नै धर्नामा बसेका कर्मचारी तथा स्वास्थ्यकर्मीले आइतबारदेखि कार्यालयमा फर्किन लागेपनि काम गर्नका लागि कागजातदेखि मसलन्दसहित सम्पूर्ण सरसामग्री सकिएकाले बिजोग रहेको गुनासो गरेका छन् ।

वडा कार्यालयहरुमा बिजुलीको महशुल नबुझाउँदा बत्ती काटिएको छ । साउनदेखि बजेट संचालन नहुँदा वडा कार्यालय तथा स्वास्थ्य संस्थामा कागजात एवं मसलन्दसहितका सबै सरसामग्री सकिएका छन् ।

हरिपूर्वामा फागुन ७ गते बहुमतका आधारमा नगरसभा गरेर चालू आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट ल्याइएको थियो ।

नगरप्रमुख विनोदकुमार साह तेलीले अब क्रमैसँग प्रत्येक समस्याको समाधान हुँदै जाने दावी गरेका छन् । उनले शुक्रबार बिहान उज्यालो अभियानसँगको कुराकानीमा सामाजिक सुरक्षा भत्ताको एक किस्ता रकम हिजो नै बैङ्कमा पठाइसकिएको र बाँकी रकम बिदा सकिएपछि निकासा गर्दै जाने बताए ।

उनले सामाजिक सुरक्षा भत्ता, शिक्षक, कर्मचारीको तलब निकासासँगै विकास निर्माणका काम पनि अब सूचारु हुने बताए । नगरप्रमुख साहले अन्यत्र सरुवा गरिसकिएका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) शम्भुप्रसाद यादवलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्को उपसचिव नपठाएसम्म रमाना दिएर नपठाउने अडान लिँदै आएका छन् ।

पुस ११ गते हरिपूर्वामा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत यादवको माघ ३ गते नै सरुवा भइसकेको छ ।

नगरप्रमुख साहले प्रमुख प्रशासकीय अधिकृत खोज्दाखोज्दै आफू हैरान भइसकेको भन्दै बल्लतल्ल ल्याएको प्रमुख प्रशासकीय अधिकृत यादवलाई अर्को व्यवस्था नहुन्जेल रमाना नदिने बताउँदै आएका छन् ।