लालबन्दी, २३ फागुन – सर्लाही प्रहरीले सवारी दर्ता किताब र गाडीको इन्जिनमा फरक–फरक चेसिस नम्वर भएको ट्रक नियन्त्रणमा लिइ कारवाहीका लागि पठाएको छ ।
प्रहरीले गएराति पूर्व पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका ६ स्थित जनवादी चोकमा चेकिङका क्रममा पूर्वतर्फ जाँदै गरेको भारतीय बीआर ०६ जीए ५१८८ नम्वरको ट्रकलाई शंका लागि चेकजाँच गर्दा सवारी दर्ता किताब र इन्जिनमा भएको चेसिस नम्वर फरक देखिएको थियो ।
उक्त ट्रक भन्सार छली गरेर ल्याएको आशंकामा बरामद गरी आज राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको सर्लाही प्रहरीका सूचना अधिकारी डीएसपी दीपेन्द्र पन्जियार थारुले जानकारी दिए ।
उनका अनुसार ट्रकका चालक भारतको मोतिहारीका २५ वर्षीय पप्पुकुमार यादव र सहचालक मोतिहारीकै २४ वर्षीय कुन्दन कुमार कुशवाहालाई समेत पक्राउ गरी राजस्व अनुसन्धान कार्यालयको जिम्मा लगाइएको छ ।