बरहथवा, २३ फागुन – सर्लाही क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेती दोस्रो पटक फेरि रक्षामन्त्रीमा नियुक्त भएका छन् ।
नयाँ बनेको गठवन्धनमा नेकपा एमालेको भागमा रक्षा मन्त्रालय परेपछि पार्टीले उप्रेतीलाई दोस्रा पटक यो मन्त्रालयको नेतृत्व गर्ने मौका दिएको हो । उप्रेती गएको वर्ष माघ ३ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वकै सरकारमा ३२ दिन रक्षामन्त्री भएका थिए ।
पछि प्रचण्डले नेपाली कांग्रेससँग गठवन्धन गरेपछि उप्रेतीसहित एमालेका मन्त्रीहरु पदमुक्त भएका थिए । बरहथवा नगरपालिकाको प्रिपाभित्ता घर भएका उप्रेती गत वर्ष भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा माओवादी केन्द्रका नरेन्द्र प्रसाद साहलाई झिनो मतान्तरले पराजित गर्दै दोस्रो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।