परवानिपुर, २२ फागुन – चैत लाग्नै लाग्दा हावाहुरीको मौसम सुरु भएको छ ।
सर्लाहीमा आजबाट दिउँसोपख हावा चल्न थालेको हो । हावा चल्न सुरु भएसँगै सुक्खापन अब झनै बढ्दै जाने स्थानीयले बताएका छन् ।
हावा चल्न थालेसँगै यहाँका कच्ची सडकहरुमा धुलो अत्यधिक उड्न थालेको छ । धुलोले सडक छेउछाउ घर भएका स्थानीय तथा यात्रु र मोटरसाइकल चालकहरु प्रभावित बन्न थालेका छन् ।
यस्तो मौसम हुँदा अब केही महिना हावाहुरी चलेर आगलागीको जोखिम धेरै नै हुने भएकाले सावधानी अपनाउन जानकारहरुले सुझाव दिएका छन् । काम सकिनासाथ चुल्होको आगो निभाउन, जथाभावी आगो नबाल्न, डढेलो नलगाउन उनीहरुको सुझाव छ ।
यहाँ बिहानपख केही मात्रामा चिसो भएपनि दिउँसोपख विस्तारै गर्मी चढ्दै गइरहेको छ ।
आज बिहान भने एक्कासी पुस, माघको झैँ बाक्लो हुस्सु लाग्दा स्थानीयले आश्चर्य व्यक्त गरेका छन् । दिउँसोबाट भने मौसम उघ्रिएर घाम लाग्यो ।