लालबन्दी, १६ फागुन – होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीको प्रथम साधारण सभा एवं जिल्ला अधिवेशन आज लालबन्दीमा सम्पन्न भएको छ ।
लालबन्दी नगरपालिका ९ स्थित होटल आर्या ईन बस्तीपुरमा संघका जिल्ला अध्यक्ष हिराकाजी योन्जनको अध्यक्षता तथा होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमको प्रमुख आतिथ्यतामा वार्षिक साधारण सभा एवं अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनमा होटल व्यवसायी तथा केन्द्रिय कराँते संघका अध्यक्ष युवराज लामा, होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका कोषाध्यक्ष बैकुण्ठ सापकोटा, उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दीपेन्द्र कुमार बलम्पाकी, उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष प्रयागराज पोते, होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्जबहादुर कार्की, संघको बाराका अध्यक्ष अर्जुन लम्साल, इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक हरिबोल केसीलगायतको आतिथ्यता रहेको थियो । संघका महासचिव राजेशकुमार शर्माको स्वागत तथा होटल व्यवसायी अभिषेक नगरकोटीको संचालनमा आयोजित कार्यक्रममा संघमा आवद्ध भएका लालबन्दी, हरिवन, बागमती, बरहथवा, मलंगवासहित जिल्लाभरका होटल तथा पर्यटन व्यवसायीलाई प्रमाण–पत्र वितरण गरिएको छ ।

यसैबीच, अधिवेशनको बन्दसत्रले जानकी पार्टी प्यालेस मलंगवाका संचालक राजेश कुमार शर्मा अध्यक्ष रहने गरी होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीको १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा नहकुल भण्डारी, प्रथम उपाध्यक्षमा नवीन काफ्ले, द्धितिय उपाध्यक्षमा मनोज साह, महासचिवमा सन्तोष कुमार दास, सचिवमा मनोज दास, कोषाध्यक्षमा ऋषि धिताल, सहकोषाध्यक्षमा सन्जिव राउत, सदस्यहरुमा अभिषेक नगरकोटी, मिना कार्की, पवित्रा कार्की, बिजु श्रेष्ठ र सविन प्रसाद रिजाल चयन भएका छन् ।

नवगठित समितिको पहिलो बैठकले निकट भविष्यमै मलंगवामा रक्तदान कार्यक्रम गर्ने र होटल व्यवसायी संघका संस्थापक अध्यक्ष शिवजी साह, दोस्रो अध्यक्ष बैकुण्ठ सापकोटा, तेस्रो अध्यक्ष हिराकाजी योन्जनलाई वरिष्ठ सल्लाहकार तथा विनोद मैनाली, पूर्ण चौलागाई र महेन्द्र राउतलाई सल्लाहकारमा चयन गर्ने निर्णय गरेको छ ।
२०७६ सालसम्म होटल संघ मात्रै नाम रहेपनि पछि नाम संशोधन गरेर होटल तथा पर्यटन व्यवसायी संघ बनाएपछि पहिलो पटक साधारण सभा गरिएको हो ।