बागमती, १२ फागुन – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सर्लाही आउँदै छन् ।
बागमती नगरपालिकाले पहिलो पटक आयोजना गरेको बृहत शैक्षिक तथा साँस्कृतिक महोत्सवलाई सम्वोधन गर्न प्रधानमन्त्री प्रचण्ड सर्लाही आउन लागेका हुन् । बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले महोत्सवको सम्पूर्ण तयारी भइसकेको जानकारी दिए ।
नगरको शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत तीन हजार विद्यार्थी र करिव १५ हजार अभिभावकलाई सहभागी गराई आज एक दिनको शैक्षिक तथा साँस्कृतिक महोत्सव आयोजना गरिएको बागमती नगरपालिकाले जनाएको छ । बागमती नगरपालिका–११, कर्मैयास्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा आयोजित महोत्सव बिहान ११ः३० बजे सुरु हुने र प्रधानमन्त्री प्रचण्डले दिउँसो २ बजे सम्वोधन गर्नुहुने प्रमुख प्रशासकीय अधिकृत पुरीले बताए ।
नेपाली सेनाको हेलिकप्टरमार्फत आउने प्रधानमन्त्री प्रचण्ड बागमतीस्थित सेनाको क्याम्पमा अवतरणपछि कार्यक्रमस्थलमा पुग्ने छन् । विद्यार्थीलाई गुणस्तरीय पठनपाठनसँगै उनीहरुको सर्वागिण विकासका लागि समाजको मौलिकता, संस्कार, सँस्कृतिका बारेमा पनि ज्ञान दिन आवश्यक ठानेर शैक्षिक तथा साँस्कृतिक महोत्सव आयोजना गर्न लागिएको बागमती नगरपालिकाले जनायो ।
महोत्सवमा तीन हजार विद्यार्थीले सातै प्रदेशको सँस्कार, सँस्कृति झल्किने ८६ मिनेटसम्मको लगातार नृत्य प्रस्तुत गर्ने छन् ।