लालबन्दी, ११ फागुन – सर्लाहीको लालबन्दीस्थित जनज्योति नमूना माध्यमिक विद्यालयले पहिलो पटक विज्ञान, प्रविधि तथा कला–सँस्कृति प्रदर्शनी आयोजना गरेको छ ।
दुई दिने प्रदर्शनीको आज मधेश प्रदेश सभाका सदस्य बेची लुङ्गेलीले उद्घाटन गरेकी छन् । “विद्यार्थीको सीप—विद्यार्थीकै सिर्जना, प्राविधिक र व्यवहारीक ज्ञान जनज्योतिको चाहना” भन्ने मूल नारासहित पहिलो पटक विद्यालयमा यस प्रकारको प्रदर्शनी आयोजना गरिएको प्रधानाध्यापक विष्णुबहादुर पोखरेलले जानकारी दिए ।
जिल्लामा सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्ने तथा विद्यार्थी भर्नामा निकै प्रतिस्पर्धा चल्ने जनज्योति माविले आयोजना गरेको प्रदर्शनीमा कक्षा ५ देखि १२ कक्षासम्मका विज्ञान, प्रविधि र कला–सँंस्कृति र सीप सिर्जनाका ११९ स्टल राखिएका छन् । प्रधानाध्यापक पोखरेलका अनुसार प्रदर्शनीमा बाली विज्ञान, डिप्लोमा, सिभिल र कम्प्युटर इन्जिनियरिङतर्फका विद्यार्थीले आ–आफ्नो स्टल राखेका छन् ।
प्रदर्शनीको विद्यार्थीसहित २० हजार भन्दा बढीले अवलोकन गर्ने विद्यालयले जनाएको छ । प्रतियोगितात्मक रुपमा आयोजना गरिएको प्रदर्शनीमा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीको समूहलाई नगद, प्रमाण–पत्र र शिल्डसहित सम्मान गरिने प्रधानाध्यापक पोखरेलले बताए ।
प्रदर्शनीकै अवसरमा विद्यालय हाताभित्र निर्माण गरिएको विज्ञान प्रयोगशालाको आज नगरप्रमुख बासुदेव अधिकारीले उद्घाटन गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम पोखरेलको अध्यक्षता तथा प्रदेश सभा सदस्य लुंगेलीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नगरप्रमुख अधिकारी, छिमेकी पालिका हरिवनका नगरप्रमुख रमेश बुढाथोकी (कमल), लालबन्दीका क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यालयका शिक्षक, विभिन्न विद्यालयका विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।