logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

डकैतीको घटनापछि स्थानीय वासिन्दा र व्यवसायीमा सुरक्षा चिन्ता


  • उज्यालो अभियान

लुटपाट भएको व्यवसायी श्यामप्रसाद साहको घर । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी, ९ फागुन – सर्लाहीको लालबन्दी बजारमा सोमबार राति भएको डकैतीको घटनापछि स्थानीय वासिन्दा र व्यवसायीले सुरक्षा चिन्ता व्यक्त गरेका छन् ।

सोमवार राति ८ बजेको आसपासमा लालबन्दी नगरपालिका–६, स्थित जनवादी चोक नजिक व्यवसायी श्यामप्रसाद साहले सञ्चालन गरेको श्याम जनरल स्टोर्समा हतियारधारी समूहले साङ्घातिक आक्रमणसहित लुटपाट गरेका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीले प्रारम्भिक अनुसन्धानमा साहको पसलबाट ४९ लाख २६ हजार रुपियाँ लुटिएको जनाएको छ ।

साहले आफ्नै घरमा व्यवसाय सञ्चालन गरेका छन् । उनले नेपाली सेनाको रासन ढुवानी, ऐनसेलको डिलर सञ्चालन र विभिन्न खाद्य वस्तुहरु होलसेलमा बिक्री गर्दै आएका छन् ।

लुटेरा समूहले व्यवसायी साह र एक जना कर्मचारीमाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् । साहको टाउकोमा सातवटा र अर्का एक जना कर्मचारीको ढाडमा चारवटा टाका लगाइएको छ ।

आफूसहित घरका सदस्य र कामदार घरमा बसिरहेका बेला अचानक मुखमा पट्टी बाँधेर घरभित्र प्रवेश गरेका व्यक्तिले पेस्तोल देखाएर लुटपाट गरेका व्यवसायी साहले बताए । यस घटनापछि उद्योग वाणिज्य सङ्घ लालबन्दी र चेम्बर अफ कमर्स लालबन्दीले छुट्टाछुट्टै विज्ञप्ती जारी गरी घटनाको घोर भत्र्सना गर्दै संलग्नलाई तत्काल पक्राउ गरी कानूनी दाउरामा ल्याउन माग गरेका छन् ।

उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकीले घटनापश्चात संलग्नलाई पक्राउ गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन जिल्लास्थित सुरक्षा निकायलाई निरन्तर दबाब दिइरहेको उज्यालो अभियानसँग बताए । “सङ्घको तर्फबाट निरन्तर दबाब दिइरहेका छौँ, उहाँहरुले सुक्ष्म अनुसन्धान भइरहेको भन्नुभएको छ,” बलम्पाकीले बुधबार उज्यालो अभियानसँग भने, “हामीले आगामी दिनमा यस्ता घटना नदोहोरियोस् भनेर ध्यानाकर्षण समेत गराएका छौँ ।”

प्रहरीले घटनाप्रति गम्भीरता देखाएर अनुसन्धानमा सक्रिय रहेकाले दोषी चाँडै पक्राउ पर्नेमा आशावादी रहेको बलम्पाकीको भनाई छ । लुटपाटको घटनाका दोषीलाई तत्काल पक्राउ गर्न माग गर्दै चेम्बर अफ कमर्स लालबन्दीले बुधबार दिउँसो पूर्व–पश्चिम राजमार्गस्थित लालबन्दी बजार क्षेत्रमा दबाब ¥याली निकालेको छ ।

सर्लाही प्रहरीले लालबन्दीको यस घटनाबारे अनुसन्धान गर्न र घटनामा संलग्नलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय लालबन्दी तथा जिल्ला प्रहरी कार्यालयको टोली निरन्तर परिचालन भइरहेको जनाएको छ । बुधबार साँझसम्म घटनामा संलग्न व्यक्ति भने पक्राउ परेका छ्रैनन् ।

सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियार थारुले आफूहरु यसै घटनाको अनुसन्धानमा केन्द्रित भइरहेको बताए । “लालबन्दीकै घटनामा ‘फोकस’ भएका छौँ, विभिन्न कोणबाट अनुसन्धान जारी छ,” डीएसपी थारुले भने ।

लालबन्दीमा पछिल्लो समय चोरीका घटना बढिरहेका बेला सोमबार राति व्यवसायीमाथि आक्रमण गर्दै लुटपाट भएको हो । यस घटनापछि शहरीकरण बढ्दै गएको लालबन्दी क्षेत्रमा सुरक्षा चूनौति थपिएको भन्दै स्थानीय वासिन्दाले चिन्ता व्यक्त गर्न थालेका छन् ।

लालबन्दीमा यसअघि गएको असोज ३ गते राति हतिधारी समूहले वडा नं. ५, शान्ति टोलका रामचन्द्र ठाकुरको घरमा हतियार देखाएर लुटपाट गरेको थियो । लुटेरा समूहले धारिलो हतियार प्रहार गर्दा घरधनी ठाकुर घाइते भएका थिए ।

त्यस घटनामा संलग्न व्यक्ति अहिलेसम्म पक्राउ पर्न सकेका छैन् । यि दुई घटनासहित पछिल्लो हप्ता मात्रै लालबन्दी ७ स्थित बजार क्षेत्रमा समेत दुई ठाउँमा चोरी भएका छन्् ।

लालबन्दी ७ का माधव पोखरेलको घर र झम्का धितालले संचालन गरेको होटलमा चोरी भएको हो । लालबन्दी नगरपालिका–७, का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले बारम्बार चोरीको घटना बढेकाले प्रहरीले सक्रियता बढाउन आवश्यक देखिएको बताए ।