बरहथवा, ९ फागुन – सर्लाहीको बरहथवा नगरपालिका–१५, प्रिपाभित्तास्थित बागमती नहरमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
अरु ६ जना घाइते भएका छन् । बिहान साँढे ११ बजेतिर बागमती नदी पारी रौतहटको गढिमाई नगरपालिकाबाट वारी सर्लाहीको हजरियातर्फ आलु खन्न आएकाहरु सवार ट्याक्टर आफै अनियन्त्रित भई नहरमा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा ट्याक्टरका धनी समेत रहेका चालक गढिमाई नगरपालिका–९, का ५५ वर्षीय जयलाल सहनी र सोही ठाउँका ५० वर्षीय रामनाथ सहनीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । सहनी द्वय ट्याक्टरको अगाडिपट्टी रहेकाले अगाडिको भागमा च्यापिएका थिए ।
दुर्घटनामा गढिमाई नगरपालिका–९ कै १७ वर्षीय आकाश सहनी, १२ वर्षीय किसन सहनी, ४८ वर्षीया गर्भी देवी, ४५ वर्षीया सुकल देवी, १८ वर्षीय नितेश सहनी र १६ वर्षीया अन्चला कुमारी घाइते भएका छन् । उनीहरुमध्ये आकाश र किसनको वीरगन्ज, गर्भी देवी, सुकल देवी र नितेशको गौर तथा अन्चला कुमारीको गरुडामा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
घाइते सबै पछाडि टेलरमा बसेका थिए । नहरको डिलमा रहेको साँघुरो बाटोबाट ट्याक्टर करिव २५ फिट तल खसेको छ ।
प्रहरीका अनुसार ट्याक्टरको नम्वर खुल्न सकेको छैन् ।