logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

मलंगवा कारागारमा थप ६३ कैदीबन्दी ल्याइयो


  • उज्यालो अभियान

मलंगवा, ९ फागुन – सर्लाहीको मलंगवा कारागारमा थप ६३ जना कैदीबन्दी स्थानान्तरण गरेर ल्याइएको छ ।

गएको शुक्रबारदेखि अस्ती सोमबारसम्म पटक–पटक गरी सिन्धुली र वीरगन्ज कारागारबाट ६३ जना कैदीबन्दीलाई स्थानान्तरण गरी ल्याइएको कारागार कार्यालय मलंगवाका निमित्त जेलर मनोजकुमार मिश्रले जानकारी दिए । मिश्रका अनुसार सिन्धुली कारागारबाट मात्रै ४४ जना कैदीबन्दीलाई यहाँ ल्याइएको छ । त्यसमध्ये ३७ पुरुष र ७ महिला रहेका छन् ।

महिलामा आश्रीत दुई जना बालबालिका रहेका छन् । यस्तै वीरगन्ज कारागारबाट १५ जना पुरुष र चार जना महिला गरी १९ जना कैदीबन्दीलाई मलंगवा कारागार ल्याइएको छ । अहिलेसम्म स्थानान्तरण गरेर ल्याइएकामध्ये अधिकांश सर्लाही जिल्ला अदालतबाट मुद्दा चलेका र यहीँ स्थायी बसोवास रहेका कैदीबन्दी रहेका छन् ।

थप ६३ जना कैदीबन्दी ल्याएसँगै मलंगवा कारागारमा १३१ जना कैदीबन्दी पुगेका छन् । त्यसमध्ये १३ जना महिला छन् । १६० जना पुरुष र ५० जना महिलासहित २१० जना कैदीबन्दी राख्ने क्षमताको मलंगवा कारागार गएको माघ ६ गते उद्घाटन भएको थियो ।

कारागार कार्यालय उद्घाटनको अघिल्लो दिन मात्रै गौर कारागार रौतहटबाट ३० जना कैदीबन्दीलाई स्थानान्तरण गरेर ल्याइएको थियो । यहाँ कारागार नहुँदा विभिन्न जिल्लामा पठाइएका कैदीबन्दीलाई प्रक्रिया पूरा गरी जिल्लाकै कारागारमा ल्याउनेक्रम जारी रहेको निमित्त जेलर मिश्रले बताए ।

जिल्लाकै कारागारमा राख्दा आफन्तजनलाई भेटघाट गर्न सहज हुने र प्रहरीलाई पनि बाहिरी जिल्लाका कारागारसम्म ओसारपसारको सास्ती कम हुने बताइएको छ । कारागार कार्यालय मलंगवाको सुरक्षार्थ अहिले प्रहरी नायब निरीक्षक (सइ) को नेतृत्वमा २५ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

१० जना कर्मचारीको दरबन्दी रहेको कारागार कार्यालयमा अहिले आठ जना कर्मचारी कार्यरत छन् । कार्यालयमा एक जना शाखा अधिकृत र एक जना सहायक कम्प्युटर अपरेटर पद रिक्त छ ।