सांकेतिक तस्बीर ।
लालबन्दी, ८ फागुन – सर्लाहीको लालबन्दीमा सोमबार राति लुटपाट भएको छ ।
लालबन्दी नगरपालिका ६ स्थित जनवादी चोकमा रहेको श्याम जनरल स्टोरमा लुटपाट भएको हो । व्यवसायी श्याम प्रसाद साहले खाद्यान्न लगायत विभिन्न सरसामग्रीको होलसेल व्यवसाय समेत संचालन गर्ने गरेको घरमा लुटपाट भएको हो ।
आफ्नो घरबाट करिव ४८ लाख रुपैयाँ लुटिएको व्यवसायी साहले दावी गरेका छन् । सोमबार राति साँढे ८ बजेतिर नै मुखमा पट्टी बाँधेर आएका चार जना व्यक्तिले घरका मानिसलाई हतियार देखाएर नियन्त्रणमा लिई लुटपाट गरेका व्यवसायी साहले बताए ।
उद्योग वाणिज्य संघ लालबन्दीले मंगलबार विज्ञप्ती जारी गरी व्यवसायी साहमाथि भएको सांघातिक हमला तथा डकैतीको घटनाप्रति भत्र्सना गर्दै सुक्ष्म अनुसन्धान गरी घटनामा संलग्नलाई पक्राउ गरेर कानूनी दायरामा ल्याउन माग गरेको छ । संघका अध्यक्ष दीपेन्द्र कुमार बलम्पाकीले आगामी दिनमा पुनः यस्ता घटना दोहोरिन नदिन भरपर्दो सुरक्षा प्रवन्ध मिलाउन माग गरेका हुन् ।
विज्ञप्तीमा व्यवसायीलाई यस्ता किसिमका घटनाप्रति सजग रहन आग्रह पनि गरिएको छ ।
सर्लाही प्रहरीले यस घटनाका सम्वन्धमा गहिरो अनुसन्धान भइरहेको जनाएको छ । अहिलेसम्म घटनामा संलग्न कोही व्यक्ति पक्राउ परेका छैनन् ।
सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पन्जियार थारुले इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्सपेक्टर) नेतृत्वको प्रहरी टोली र जिल्लाबाट समेत प्रहरी परिचालन गरी घटनाको अनुसन्धान भइरहेको उज्यालो अभियानसँग बताए ।