लालबन्दी, २ फागुन – २९ औँ जनयुद्ध दिवसको अवसरमा मंगलबार साँझ लालबन्दी र हरिवनमा दीप प्रज्वलन गरिएको छ ।
नेकपा माओवादी केन्द्र लालबन्दी नगर कमिटीले लालबन्दीमा र हरिवन नगर कमिटीले हरिवनमा दीप प्रज्वलन गरेका हुन् । लालबन्दीमा नगर कमिटी अध्यक्ष लेखराम जर्गा मगर (अर्जुन) र हरिवनमा नगर कमिटी अध्यक्ष अर्जुन पन्तको अध्यक्षतामा आयोजित दीप प्रज्वलनमा उपलब्ध अगुवा, नेता कार्यकर्ता उपस्थिति भएका छन् ।
जनयुद्ध दिवसकै अवसरमा आज बागमतीमा माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपाल बागमती नगर कमिटिको आयोजनामा बागमती नगरपालिकाको सभा हलमा कार्यक्रम गरिएको हो ।
नगरभित्रका सामुदायिक र निजी गरी ६ वटा माध्यमिक विद्यालय सहभागी प्रतियोगितामा नमूना ज्ञानोदय आवासिय विद्यालयका रचित खड्का पहिलो, नव जनजागरण माध्यमिक विद्यालयका नवराज पौडेल दोस्रो र जन वालकल्याण माध्यमिक विद्यालयकी अन्जली महतो तेस्रो भएका छन् ।
उनीहरुलाई क्रमश : ५ हजार, ३ हजार र दुई हजार नगदसहित प्रमाण–पत्रबाट सम्मान गरिएको छ ।
ती विद्यार्थीलाई बागमती नगरपालिकाकी उपप्रमुख लिलाकुमारी मोक्तानलगायत माओवादीका नेताहरुले पुरस्कार वितरण गरेका छन् ।