logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सर्लाहीमा आज पनि बाक्लो हुस्सु र तुसारो कायमै


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीमा आज पनि बाक्लो हुस्सु लागेर तुसारो जारी रहँदा चिसोले जनजजीवन कष्टकर बनेको छ ।

विगत ७/८ दिनदेखिको कठ्यांग्रिदो चिसो कम हुन सकेको छैन् । सर्लाही र यस आसपासका जिल्लाहरुमा विगत एक सातादेखि राम्रोसँग घाम लाग्न सकेको छैन् ।

सर्लाहीको उत्तरी चुरेभेगका गाउँहरुमा हिजो दिउँसोपख पारिलो घाम लाग्यो । तर, आज अहिले बिहान भने जिल्लाभर नै बाक्लो हुस्सु, बाहिर निस्कँदा भिज्ने गरी तुसारो र चिसो स्याँठ छ । बाक्लो हुस्सु र तुसारोले तापक्रम बढ्न पाएको छैन् ।

आज बिहान ७ बजे सर्लाहीको तापक्रम ९ डिग्री सेल्सीयस मापन भएको छ । घाम नलाग्दा अतिविपन्न, गरिबगुरुवाको दैनिकी सबैभन्दा बढी कष्टकर बनेको छ ।

न्याना कपडा नभएका र पराल ओछ्याएर सुत्ने विपन्न परिवारलाई चिसो छल्न असाध्य गाह्रो परेको हो । कठ्यांग्रिने गरी चिसो हुँदा बालबालिका, वृद्धवृद्धा र अशक्त व्यक्ति झनै प्रभावित बनेका छन् ।

चिकित्सकले यो चिसोमा ती व्यक्तिहरुको विशेष ख्याल गर्न, तुसारो र स्याँठ चलेको बेला घरभित्रै बस्न, सुरक्षितसँग आगो ताप्न, झोलिला र पौष्टिकयुक्त खानेकुरा खान तथा चिसोबाट जोगिने उपाय अपनाउन सुझाव दिँदै आएका छन् । चिसो छल्न मानिस घर, चोक, बजारमा आगो तापेर बसिरहेका छन् ।

स्थानीय पालिक र अन्य निकायले न्यानो प्रदान गर्न वास्ता गरेका छैनन् । तुसारो र हुस्सुले आलु, गोलभेँडा, सिमी, खुर्सानीसहित किसानले लगाएको तरकारी र बालिनालीमा ठन्डीजन्य संक्रमण बढ्न थालेको बताएका छन् ।

चिसोले पन्छी तथा पशुचौपाय सुरक्षित राख्न र स्याहार गर्न मुस्किल परेको किसानको भनाई छ ।

नवलपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले हुस्सु लागेको समयमा सवारी दुर्घटनाको जोखिम धेरै हुने भएकाले सावधानीका साथ यात्रा गर्न र सवारी साधन चलाउ आग्रह गरेको छ ।