लालबन्दी – लायन्स क्लब लालबन्दी सिटीले लालबन्दी नगर अस्पताललाई आइतबार दुई थान आधुनिक किसिमको आइसियु शैय्या अर्थात् बेड सहयोग गरेको छ ।
लान्यस क्लब इन्टरनेशनलका जन्मदाता मेल्भिन जोन्स डे को अवसरमा लायन्स क्लबले भर्खरै पाँच शैय्याबाट १५ शैय्यामा स्तरोन्नति गरिएको लालबन्दी नगर अस्पताललाई अति आवश्यक परिरहेको आइसियु बेड प्रदान गरेको हो । अस्पतालमा यसअघि सामान्य किसिमका बेड मात्रै थिए ।
पछिल्लो समय सेवा सुधार गर्दै गइरहेको नगर अस्पतालले क्लबसँग सहयोग मागेकाले एउटालाई एक लाख ५० हजार रुपियाँ भन्दा बढी पर्ने दुईवटा आइसियु बेड उपलब्ध गराइएको लायन्स क्लब इन्टरनेशनल ३२५ एच डिस्टिकका रिजन चियरपर्सन राजकुमार न्यौपानेले जानकारी दिए । अस्ती शुक्रबार मात्रै नगर अस्पतालको रुपमा औपचारिक उद्घाटन गरिएको यस अस्पतालमा केही साताभित्रै प्रसुतितर्फ शल्यक्रिया (सीएस) सेवा प्रारम्भ गर्ने तयारी भइरहेको छ ।
शल्यक्रिया सुरु गर्नासाथ सुत्केरीलाई राख्ने आइसियु बेडको अभाव भइरहेको अवस्थामा लायन्स क्लबको यो सहयोगले ठूलो राहत मिलेको अस्पतालका प्रमुख एवं स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर रामविश्वास रायले बताए । उनले अप्रेसन सेवा प्रारम्भ गर्न उपकरण जुटाउने काममा लागिपरेको बताए ।
अस्पतालसँग यसअघि नै १५ वटा बेड पुग्ने भएपनि सबै सामान्य किसिमका छन् ।
लायन्स क्लब लालबन्दीका संस्थापक अध्यक्ष तथा लायन्स क्लब इन्टरनेशनल ३२५ एचका एरिया को–अडिनेटर दीपेन्द्र अधिकारी, रिजन चियरपर्सन राजकुमार न्यौपाने, लायन्स क्लब अफ लालबन्दी सिटीका अध्यक्ष नारायण दाहाल, लायन्स क्लब लालबन्दीका अध्यक्ष सुरेश पौडेल र दुवै क्लबका अन्य पदाधिकारीहरु भएर अस्पतालका प्रमुख डाक्टर रामविश्वास राय, लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक मुमताज मिकरानी, स्वास्थ्यकर्मी रोशन चौधरी र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं लालबन्दी नगरपालिका ९ का वडाध्यक्ष नारायण अधिकारीलाई आइसियु बेड हस्तान्तरण गरेका हुन् ।
लायन्स क्लब लालबन्दीले यसअघि हिजो शनिबार मात्रै हरिवन नगरपालिका–२, मा रहेको अत्रौली स्वास्थ्य चौकीलाई दुई लाख ५० हजार रुपियाँ बराबरको औषधि सहयोग गरेको थियो ।
क्लबले आज आइतबार बिहान लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा आश्रय दिएर राखिएका वृद्धवृद्धालाई एक छाक मिष्ठान्न भोजन गराएको छ ।