सर्लाहीको विष्णु गाउँपालिकास्थित मधुवनगोठ बजारमा आगो ताप्दै गरेका सर्वसाधारण र प्रहरी । (तस्बीर सौजन्य : अकलेश बैठा)
मलंगवा – सर्लाहीमा आज पनि बाक्लो हुस्सु लागेर तुसारो परिरहँदा कठ्यांग्रिदो चिसो छ ।
सर्लाही र यस आसपासका जिल्लाहरुमा विगत एक सातादेखि प्रायः मौसम यस्तै छ । दिउँसोपख हुस्सु पातलो भएपनि घाम लाग्न नसकेको एक हप्ता भइसकेको छ ।
बाक्लो हुस्सु र तुसारोले तापक्रम बढ्न पाएको छैन् । घाम नलाग्दा अतिविपन्न, गरिबगुरुवाको दैनिकी सबैभन्दा बढी कष्टकर बनेको छ ।
न्याना कपडा नभएका र पराल ओछ्याएर सुत्ने विपन्न परिवारलाई चिसो छल्न असाध्य गाह्रो परेको हो । कठ्यांग्रिने गरी चिसो हुँदा बालबालिका, वृद्धवृद्धा र अशक्त व्यक्ति झनै प्रभावित बनेका छन् ।
चिकित्सकले यो चिसोमा ती व्यक्तिहरुको विशेष ख्याल गर्न, तुसारो र स्याँठ चलेको बेला घरभित्रै बस्न, सुरक्षितसँग आगो ताप्न, झोलिला र पौष्टिकयुक्त खानेकुरा खान तथा चिसोबाट जोगिने उपाय अपनाउन सुझाव दिँदै आएका छन् । चिसो छल्न मानिस घर, चोक, बजारमा आगो तापेर बसिरहेका छन् ।
स्थानीय पालिक र अन्य निकायले न्यानो प्रदान गर्न वास्ता गरेका छैनन् । तुसारो र हुस्सुले आलु, गोलभेँडा, सिमी, खुर्सानीसहित किसानले लगाएको तरकारी र बालिनालीमा ठन्डीजन्य संक्रमण बढ्न थालेको बताएका छन् ।
चिसोले पन्छी तथा पशुचौपाय सुरक्षित राख्न र स्याहार गर्न मुस्किल परेको किसानको भनाई छ ।
नवलपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले हुस्सु लागेको समयमा सवारी दुर्घटनाको जोखिम धेरै हुने भएकाले सावधानीका साथ यात्रा गर्न र सवारी साधन चलाउ आग्रह गरेको छ ।