logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

तुसारो परेर ठिर्याउँदो चिसो, तापक्रम ८ डिग्री सेल्सीयस


  • उज्यालो अभियान

लालबन्दी – तुसारो परेर बाक्लो हुस्सु लागिरहँदा सर्लाहीमा आज पनि ठिर्याउँदो चिसो छ ।

विगत एक सातादेखि यहाँ मौसम राम्रोसँग उघ्रिन सकेको छैन् । घाम नलाग्दा अतिविपन्न, गरिबगुरुवाको दैनिकी सबैभन्दा बढी कष्टकर बनेको छ ।

न्याना कपडा नभएका र पराल ओछ्याएर सुत्ने विपन्न परिवारलाई चिसो छल्न असाध्य गाह्रो परेको हो । तुसारो बढ्दै जाँदा सर्लाहीको तापक्रम दिनहुँ घट्दो क्रममा छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ७ बजे सर्लाहीको तापक्रम ८ डिग्री सेल्सीयस मापन गरिएको छ । यसअघि हिजो शुक्रबार ९ डिग्री र अस्ती बिहिबार जिल्लाको तापक्रम १० डिग्री सेल्सीयस थियो ।

तापक्रम घट्दै गएर कठ्यांग्रिने गरी चिसो हुँदा बालबालिका, वृद्धवृद्धा र अशक्त व्यक्ति झनै प्रभावित बनेका छन् । चिकित्सकले यो चिसोमा ती व्यक्तिहरुको विशेष ख्याल गर्न, तुसारो र स्याँठ चलेको बेला घरभित्रै बस्न, सुरक्षितसँग आगो ताप्न, झोलिला र पौष्टिकयुक्त खानेकुरा खान तथा चिसोबाट जोगिने उपाय अपनाउन सुझाव दिँदै आएका छन् ।

चिसो छल्न मानिस घर, चोक, बजारमा आगो तापेर बसिरहेका छन् । स्थानीय पालिक र अन्य निकायले न्यानो प्रदान गर्न वास्ता गरेका छैनन् । तुसारो र हुस्सुले आलु, गोलभेँडा, सिमी, खुर्सानीसहित किसानले लगाएको तरकारी र बालिनालीमा ठन्डीजन्य संक्रमण बढ्न थालेको किसानले बताएका छन् ।

चिसोले पन्छी तथा पशुचौपाय सुरक्षित राख्न र स्याहार गर्न मुस्किल परेको किसानको भनाई छ ।

नवलपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले हुस्सु लागेको समयमा सवारी दुर्घटनाको जोखिम धेरै हुने भएकाले सावधानीका लागि यात्रा गर्न र सवारी साधन चलाउ आग्रह गरेको छ ।