मलंगवा – ‘तपस्वी’ रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई प्रहरीले सर्लाही ल्याएको छ ।
विभिन्न जिल्लाहरुमा आश्रम खोलेर अनुयायी बलात्कार, हत्या तथा वेपत्ता पारेको आरोप लागेका बम्जनलाई बुधबार राति कडा सुरक्षाकाबिच सडक मार्ग हुँदै सर्लाही ल्याइएको हो । बम्जनलाई विमानमार्फत यहाँ ल्याउने तयारी गरिए पनि मौसम प्रतिकुल रहेकाले विमान आउने/नआउने अनिश्चित भएपछि राति नै सडक मार्ग भएर यहाँ ल्याइएको हो ।
उनलाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको प्रहरी स्रोतले जनाएको छ । बम्जनलाई अदालत खुल्नासाथ आजै अदालतमा पेश गर्ने तयारी सर्लाही प्रहरीका प्रमुख (एसपी) प्रवीण धितालले बताए ।
लामो समयदेखि फरार रहेका बम्जनलाई मङ्गलबार साँझ काठमाडौँको बुढानिलकण्ठबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले पक्राउ गरेको थियो । उनको घरबाट बरामद भएको नगद तथा जिन्सी र बम्जनको जीवनशैली अपत्यारिलो छ ।
बम्जनविरुद्ध २०७७ साल असार २१ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा बम्जनविरुद्ध पक्राउ पुर्जी जारी भएको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले बताए ।
प्रहरीले बम्जन फरार रहेको भनी मुद्दा चलाएको र उनलाई अदालतमा हाजिर गराएपछि इजलाश समक्ष प्रस्तुत गरिने श्रेस्तेदार अधिकारीले बताए ।
प्रहरीले मुद्दाको मिसिल बुझाइसकेकाले छुुनछेक बहस तत्कालै सुरु हुने सर्लाही जिल्ला अदालतले जनाएको छ । बम्जन सर्लाहीको चुरेभेगमा पर्ने लालबन्दी नगरपालिका–१२, पत्थरकोट स्याङ्बो डाँडास्थित आश्रममा पनि केही वर्ष बसेका थिए ।

लालबन्दी १२ स्थित स्याङ्बो डाँडामा रहेको बम्जनको आश्रम । (तस्बीर : उज्यालो अभियान)
स्थानीयका अनुसार बोम्जनको आश्रम अहिले सुनसान छ । कहिलेकाँही केही अनुयायी आउजाउ गर्ने गर्छन् ।
बम्जनविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सर्लाही प्रहरीले पत्थरकोटमा रहेको सो आश्रममा पटक–पटक छापा मारेको थियो ।