लालबन्दी – सर्लाहीमा आज पनि बिहानैदेखि बाक्लो हुस्सु लागेर शित झरिरहेको छ ।
बाहिर केहीबेर हिँड्दा शितले भिज्ने अवस्था छ । सर्लाहीमा हिजो पनि मौसम यस्तै रहेको थियो । हिजो दिउँसोपख भने मौसम उघ्रिएर केही घन्टा घाम लागेको थियो । तर गएसाँझबाट फेरि हुस्सु र शित झर्न जारी रहेको हो ।
सर्लाहीमा अहिले बिहान सबैभेगमा डप्प हुस्सु लागेर तपतप शित झरिरहेको छ । जति दक्षिणीतर्फ गयो, उति नै बढी हुस्सु लागेको स्थानीयले बताएका छन् । बाक्लो हुस्सुले ५० मिटर अगाडिको दृश्य देख्न पनि कठीन छ ।
ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले यो मौसममा सवारी दुघटनाको जोखिम धेरै हुने भएकाले सावधानीका साथ पैदल हिँड्न र सवारीसाधन चलाउन अनुरोध गरेको छ । बाक्लो हुस्सु लागेर मौसम प्रतिकुल बन्दा सवारी साधन आवागमनमा असहज भएको छ ।
शितलहर चलेर बढेको चिसाले न्याना कपडा नभएका विपन्न परिवारका मानिससँगै वस्तुभाउ, चराचुरुङ्गी समेत प्रभावित भएका छन् ।
कठ्यांग्रिदो चिसोले बालबालिका, वृद्धवृद्धा, अशक्त मानिसलाई समस्या भएको छ भने विद्यालयलाई विद्यालय जान, मजदुर र किसानलाई बाहिर निस्किएर काम गर्न असहज भएको छ ।