लालबन्दी – सर्लाहीमा आज कठ्यांग्रिदो चिसो छ ।
बाक्लो हुस्सु लागेर शित समेत झरिरहेका कारण यहाँका स्थानीयले अत्यधिक जाडो महशुस गरेका छन् । मध्य पुसमा ४ दिन लगातार यसैगरी बाक्लो हुस्सु लागेर असाध्य चिसो खेपेका यस क्षेत्रका वासिन्दाले विगत ३÷४ दिनदेखि भने दिनभर पारिलो घाम लाग्दा राहत महशुस गरेका थिए । तर, आजबाट मौसम फेरि खराब भई जाडो हुन थालेको हो ।
जिल्लाभर नै अहिले बाक्लो मात्रामा हुस्सु लागेर सय मिटर अगाडिसम्मको दृश्य देख्न पनि मुस्किल छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले हुस्सु कारण ‘भिजिविलिट’ कम भई सवारी दुर्घटना हुने जोखिम भएकाले सावधानीका साथ यात्रा गर्न पैदलयात्री र सवारी चालकलाई अनुरोध गरेको छ ।
बाक्लो हुस्सुले गर्दा प्रत्येक सवारी साधन बत्ती बालेर गुडिरहेका छन् । चिसोले अत्यावश्यक काम परेर बाहिर निस्कनु पर्नेहरु समस्यामा परेका छन् ।
पढ्न जानुपर्ने बालबालिका, कामाम निस्कनुपर्ने मजदुर र किसानलाई पनि मार परेको छ ।
यस्तो हुस्सु र शितले आलु, गोलभेँडासहितका तरकारी बाली प्रभावित हुने चिन्ताले किसान पिरोलिएका छन् ।