logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

बरहथवा घटना : मृतक युवकको शव अझै घटनास्थलमा


  • उज्यालो अभियान

बरहथवा – सर्लाहीको बरहथवामा हिजो शुक्रबार दिउँसो प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका युवकको शव अझै घटनास्थलमै रहेको छ ।

प्रशासनले घटनाबारे आफूहरुसँग वार्ता गर्नुपर्ने, दोषीलाई कानूनी दायरामा ल्याउनुपर्नेलगायतका माग राखेर आन्दोलित पक्षले शनिबार (आज) बिहानसम्म पनि युवकको शव घटनास्थलबाट उठाउन दिएका छैनन् । अस्पताल स्तरोन्नतिको माग राखी भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा शुक्रबार दिउँसो ३ बजेतिर बरहथवा नगरपालिका–६, का अन्दाजी ३० वर्षीय जयशङ्कर साहको मृत्यु भएको थियो ।

साहले बरहथवा बजारमा होटल संचालन गर्थे । उनलाई बरहथवा बजारस्थित विद्युत् कार्यालय नजिकको पुलमा गोली लागेर घटनास्थलमै मृत्यु भएको हो ।

साहको शव शुक्रबार रातभर घटनास्थलमा रह्यो । सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पन्जियार थारुले मृतक युवकको शव पोष्टमार्टमका लागि शुक्रबार बेलुकादेखि प्रादेशिक अस्पताल मलङ्गवा लैजाने प्रयास गरेपनि स्थानीयले शव उठाउन नदिएका शनिबार बिहान उज्यालो अभियानसँग बताए ।

डीएसपी थारुका अनुसार शुक्रबारको झडपमा घाइते भएका प्रहरी र प्रदर्शनकारीमध्ये प्रहरी सहायक निरीक्षक (असई) भिखारी यादवबाहेक अन्य अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । गम्भीर घाइते असई यादवको वीरगन्जमा उपचार जारी छ ।

शुक्रबारको झडपपछि स्थानीय प्रशासनले बरहथवा बजार क्षेत्रमा कफ्र्यु आदेश जारी राखेको छ । शुक्रबार बेलुका ५ः३० बजेदेखि जारी कफ्र्यु आदेश शनिबार (आज) बिहान ८ बजेसम्मका लागि तोकिए पनि पुनः समय थप हुन सक्ने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनायो ।

अहिले बिहान बरहथवा बजार क्षेत्रको अवस्था सामान्य नै छ । शुक्रबारबाट उत्पन्न असहज स्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयले बरहथवामा जिल्लासहित मातहतका प्रहरी युनिटहरुबाट थप मद्दतमा बाक्लो मात्रामा प्रहरी परिचालन गरेको छ ।

सशस्त्र प्रहरीले पनि ठूलो सङ्ख्यामा जनशक्ति परिचालन गरेको छ । बरहथवा नगरपालिका ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाले तीन महिना गरेको निर्णय कार्यान्वयन गर्न माग गर्दै शुक्रबारबाट प्रदर्शन चर्काइएको छ ।

नगरपालिका कार्यालय, नगरप्रमुख कल्पनाकुमारी कटुवालको निजी घर र सवारी साधनमा ढुङ्गामुढा तथा आगजनी हुन थालेपछि प्रहरीले शुक्रबार गोली चलाएको थियो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आन्दोलनकारीहरु ढुङ्गामुढा गर्दै प्रहरीको हतियार नै खोस्न आएपछि प्रतिरक्षाका लागि गोली चलाउनुपरेको बताएका छन् ।

नेपाली कांग्रेस, जनमत, जसपासहितका दलले नगर कार्यपालिका बैठकले असोज ९ गते गरेको निर्णय अनुसार तत्काल प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति गरी ५० शैय्याको बनाउन प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने माग राख्दै आन्दोलन गर्दै आइरहेका छन् । पुस १८ गते बसेको कार्यपालिका बैठकले असोज ९ गतेको निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको थियो ।

त्यसपछि कांग्रेससहितका दलले आन्दोलन थप चर्काएका छन् । नगरप्रमुख कल्पनाकुमारी कटुवालसहित नेकपा एमालेबाट निर्वाचित बहुमत कार्यपालिका सदस्य असोज ९ को निर्णय कार्यान्वयन नगर्ने पक्षमा छन् ।