मलंगवा – भारतीय सीमावर्ती क्षेत्रस्थित सर्लाहीको पर्सा गाउँपालिकामा आयोजित निःशुल्क आँखा उपचार शिविरबाट ४ सय भन्दा बढी स्थानीयले लाभ लिएका छन् ।
पर्सा गाउँपालिकाको वडा नं. १ स्थित प्राथमिक विद्यालय शितलपुरमा शुक्रबार भएको एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय भन्दा बढी बिरामीको आँखा जाँच गरिएको हो । ती मध्ये १३० जनामा मोतिया विन्दु फेला परेको छ ।
उनीहरुलाई जिल्ला आँखा अस्पताल मलंगवा ल्याएर निःशुल्क शल्यक्रियाको समेत व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।
चेतना मलंगवा र कतार च्यारिटीको सहयोगमा आयोजित आँखा शिविरको गाउँपालिकाका अध्यक्ष धिरेन्द्र राय यादव (विस्पद), वडा नं. १ का वडाध्यक्ष सतेन्द्र राय, प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार यादवलगायतले निरीक्षण गरेका छन् ।