बागमती – सर्लाहीको बागमती नगरपालिका–४, जिरायतमा एक महिलालाई मदिरा सेवन गराएर सामूहिक बलत्कार भएको छ ।
बोल्न नसक्ने ३१ वर्षीया एक महिलामाथि गएको मंगलबार राति जिरायतस्थित सुकेखोला नजिक लहरी घारीमा लगेर सामूहिक बलात्कार भएको हो । प्रहरीले बलात्कारको घटनामा संलग्न रहेका सोही ठाउँका ३५ वर्षीय हरि भन्ने हिराबहादुर भुजेल, ४२ वर्षीय राम भन्ने खेलेन्द्र परियार र २१ वर्षीय अनिल भन्ने धनलाल बराईलीलाई पक्राउ गरेको छ । उनीहरुले बोल्न नसक्ने महिलालाई मदिरा सेवन गराई सामूहिक जवरजस्ती करणी गरेका प्रहरीले जनाएको छ ।
महिलामाथि करणी गरी फरार रहेका तीनै जनालाई जिरायतस्थित सुकुम्वासी बस्तीमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए । उनका अनुसार पक्राउ परेकामध्ये ३५ वर्षीय हिराबहादुर भुजेल र ४२ वर्षीय खेलेन्द्र परियार विवाहित हुन भने २१ वर्षीय धनलाल बराईली अविवाहित हुन् । पीडित महिला अविवाहित हुन् ।
पक्राउ परेका तीनै जनाविरुद्ध सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक गिरीले बताए । पीडित महिलाको प्रादेशिक अस्पताल मलङ्गवामा स्वास्थ्य परीक्षण गरिएको र उनको अवस्था सामान्य नै रहेको प्रहरीले जनाएको छ ।