logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

२२९ जना विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ५ र ७ मा रहेका दुईवटा विद्यालयका २२९ जना विद्यार्थीको आज निःशुल्क स्वास्थ्य परीक्षण तथा समस्या अनुसारको औषधि वितरण गरिएको छ ।

अमरज्यान आधारभूत विद्यालय लालबन्दी ५ मेजरगन्जका १७० जना र शहीद ईगल नमूना प्राथमिक विद्यालय लालबन्दी ७ डाँडाटोलका ५९ जना विद्यार्थीको निःशुल्क स्वास्थ्य उपचार गरिएको हो । लायन्स क्लब अफ लालबन्दी, लालबन्दी सिटी क्लब, किवानिस क्लब अफ निलगिरी, किवानिस क्लब अफ ह्वाइट रोज र लालबन्दी नगर अस्पतालको संयुक्त आयोजनामा यि दुई विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको लायन्स क्लब लालबन्दीका पूर्व अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिए ।

शिविर राख्न नेपाल डेन्टल एण्ड हेल्थ क्लिनिक लालबन्दी ९, ब्लू क्रस ल्याबोटोरिज प्रा.लि. र तुलसा ड्रग एण्ड डिस्ट्रीब्युटर लालबन्दी ७ ले सहयोग गरेका थिए । शिविरमा नाक, कान र घाँटीका विशेषज्ञ, दाँतका विशेषज्ञ र जेनेरल फिजिसियनलाई लगेर विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको न्यौपानेले बताए ।

लालबन्दी ५ मा वडाध्यक्ष मिनप्रसाद ढुंगेल (रामु) र वडाध्यक्ष ७ मा वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) समेतको उपस्थितिमा स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।