पत्थरकोट – सर्लाहीको लालबन्दी नगरपालिका–१२, जियाजोर क्षेत्रमा निर्माण भइरहेको हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रशारण लाइनसँग सम्वन्धित स्थानीयको माग उर्जा, जलश्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेत समक्ष राखिएको छ ।
आफ्ना जनप्रतिनिधिलाई लिएरै काठमाडौँ पुगेका स्थानीयले मन्त्री बस्नेत र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेरै आफ्ना माग र गुनासा अवगत गराएका हुन् । जियाजोर क्षेत्रमा विगत सात वर्षदेखि रोकिएको प्रशारण लाइनको काम प्रहरीको सहयोग लिएर एक सातादेखि अघि बढाइएको छ ।

प्रशारण लाइनको जियाजोर क्षेत्रमा गाड्न बाँकी आठ वटा टावरको जग खन्ने काम धमाधम भइरहेको हो । गाउँमा धमाधम काम अघि बढाएपछि स्थानीयहरु सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरी, माओवादी केन्द्रका नेता प्रल्हाद बुढाथोकी, लालबन्दी नगरपालिका १२ का वडाध्यक्ष दुर्गा बहादुर आले मगर र १३ का वडाध्यक्ष शिवकृष्ण वैद्यलाई लिएर सङ्घीय राजधानी पुगेका हुन् ।

मन्त्री बस्नेत र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँग स्थानीयलाई जग्गाको उचित मुआब्जा प्रदान गर्ने तथा प्रशारण लाइनको तार छेउछाउका जग्गाको कित्ताकाटलगायत विषयमा सकारात्मक छलफल भएको माओवादी केन्द्रका नेता श्याम श्रेष्ठले जानकारी दिए ।
राष्ट्रिय गौरवको यस आयोजनाको अब ढल्केबरदेखि हेटौंडासम्म मकवानपुरको हटिया क्षेत्रमा मात्रै अवरोध छ ।

प्रहरी राखेर काम अघि बढाइए पनि सर्लाहीको जियाजोरका स्थानीय वासिन्दाले टावर बस्ने जग्गा तथा तार टाङ्गा प्रभावित हुने जग्गाको मुआब्जाको विषयमा चित्त बुझाएका छैनन् ।

स्थानीयले केही दिनअघि प्रमुख जिल्ला अधिकारी (सीडीओ) कोमलप्रसाद धमलालाई समेत भेटेर आफूहरुको मागबारे ध्यानाकर्षण गराएका थिए ।