logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

हरिवनका प्रहरी निरीक्षक गिरीलाई मंसिर ‘महिनाको उत्कृष्ट प्रहरी’ सम्मान


  • उज्यालो अभियान

प्रहरी निरीक्षक अनिलराज गिरीलाई मंसिर ‘महिनाको उत्कृष्ट प्रहरी’ सम्मानबाट सम्मान गर्दै जिल्ला प्रहरी प्रमुख (एसपी) प्रवीण धिताल । (तस्बीर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवनस्थित इलाका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक अनिलराज गिरी मंसिर ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले इन्स्पेक्टर गिरीलाई ‘पुलिस अफ द मन्थ’ घोषित गरी पुरस्कृति गरेको हो । सोमबार सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालयमा भएको युनिट इन्चार्जहरु समेतको बैठकमा जिल्ला प्रहरी प्रमुख (एसपी) प्रवीण धिताल र प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पन्जियार थारुले प्रहरी निरीक्षक गिरीलाई प्रमाण–पत्र र नगदसहित पुरस्कृत गरेका कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक गिरीलाई हरिवन नगरपालिका ११ बालगंगास्थित मुस्लिम बस्तीकी तबसुन खातुनको शंकास्पद मृत्युमा गहन अनुसन्धान गरी विभिन्न प्रमाण संकलन गरेर मृतककी आमा सकिना खातुनलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन सफल भएको र सोही घटनासँग जोडिएको शेष चाँद भन्ने शेख मिर हमजाले झुठा विवरण पेश गरी नागरिकता तथा राहदानी लिएको घटनामा समेत अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाउन सफल भएको भन्दै जिल्ला प्रहरीले प्रहरी निरीक्षक गिरीलाई उत्कृष्ट घोषणा गरेको हो । सकिना र शेष चाँद दुवै पूर्पक्षमा कारागार चलान भइसकेका छन् ।

प्रहरी निरीक्षक गिरीलाई प्रहरीको माथिल्लो निकायसम्मकै रेकर्डमा जनिने गरी पुरस्कृत गरिएको प्रहरी उपरीक्षक धितालले बताए । उनले सबै युनिट इन्चार्जहरुको सामु सम्मान गर्दा अन्यलाई पनि उर्जा तथा प्रोत्साहनका मिल्ने बताएका छन् ।