logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

उर्जामन्त्री बस्नेतद्वारा माओवादीका कार्यकर्तासँग संक्षिप्त भेटघाट


  • उज्यालो अभियान

बागमती – उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेत सर्लाहीको कर्मैयास्थित बागमती सिँचाई आयोजनाको कार्यालयमा आज आफ्नो पार्टी माओवादी केन्द्रका अगुवा कार्यकर्तासँग भेटेर गएका छन् ।

पूर्वको कार्यक्रममा सरिक भई सिमराबाट विमानमा काठमाडौं जान पश्चिम लागेका मन्त्री तथा माओवादी नेता बस्नेत सिँचाई आयोजनामा केहीबेर जिल्लाका अगुवा नेता कार्यकर्तासँग भेटेर अघि बढेका हुन् । संक्षिप्त भेटमा मन्त्री बस्नेतले पार्टीको वर्तमान गतिविधि, सरकारको अवस्थालगायतबारे कार्यकर्तालाई अवगत गराएका माओवादी केन्द्रका केन्द्रिय सदस्य अच्यूतम काफ्लेले जानकारी दिए ।

बस्नेतले बागमती सिँचाई आयोजनाको अवस्थाबारे समेत जानकारी लिए । मन्त्री बस्नेत नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगै सिमरातर्फ लागेका हुन् । उनीहरुले लालबन्दी १२ जियाजोरमा ३ दिनअघि देखि अघि बढेको हेटौंडा–ढल्केबर–इनरुवा प्रशारण लाइनको कामको अनुगमन गर्ने बताइए पनि समय अभावका कारण उनीहरु त्यहाँ भने जान भ्याएनन् ।

राष्ट्रिय गौरवको यस आयोजनाको जियाजोर क्षेत्रमा प्रहरीको सहयोग लिएर टावर राख्नका लागि खाल्डो खन्ने काम जारी छ । आजबाट ४ वटा जेसीबी लगाएर खाल्डो खन्ने कामलाई तीव्रता दिइएको छ ।

मुआब्जाप्रति चित्त नबुझाएर जियाजोरवासीले ७ वर्षसम्म काम रोकेका थिए ।