मलंगवा – स्थानीय तहहरुमा वडाबाट हुने सिफारिस लगायत सेवा प्रवाहका सम्वन्धमा सुरक्षा निकायका पदाधिकारीले सर्लाहीका पालिकाहरुमै गएर जनप्रतिनिधि तथा कर्मचारीसँग अन्तक्र्रिया गर्ने भएका छन् ।
हिजो दिउँसो जिल्ला प्रशासन कार्यालयमा भएको कार्यालय प्रमुखहरुको बैठकले वडाबाट प्रहरी तथा प्रशासनमा सिफारिस भएर आउने कतिपय सिफारिसमा कमिकमजोरी तथा समस्या देखिएको र सेवाग्राही दोहोर्याएर सिफारिस लिन जाँदा झन्झट भएको गुनासो आएकाले एक पटक सुरक्षा अधिकारी र जिल्ला समन्वय समितिका पदाधिकारी आफै पालिकाहरुमा पुगेर सिफारिसका सम्वन्धमा यथाशिघ्र अन्तक्र्रिया गर्ने निर्णय गरेको हो ।
त्यस्तै, आगलागीजन्य विपद् प्रभावित निजी आवास पुननिर्माणका लागि बनेको कार्यविधिबारे प्रचारप्रसार तथा अभिमुखीकरण गर्ने, शितलहर प्रभावित बस्तीमा दाउरा वितरणका लागि डिभिजन वन कार्यालयले प्रत्येक स्थानीय तहलाई २ चट्टा दाउरा प्रदान गर्ने लगायतका निर्णय भएका छन् ।
बैठकमा प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेलगायत सुरक्षा अधिकारी र कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो ।
बैठकमा जिल्लाका अन्य समसामायिक विषयमा पनि छलफल भएको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ ।