लालबन्दी – सर्लाहीको मौसम अहिले क्रमिक रुपमा उघ्रिदै गएर घाम लाग्न थालेको छ । तर, भित्रीरुपमा ठिर्याउँदो चिसो भने कायमै छ ।
यस क्षेत्रमा हिजो पनि दिनभर मौसम उघ्रिएर पारिलो घाम लागेको थियो । मौसम उघ्रिए पनि हिजो र आज दुवै दिन सामान्य रुपमा स्याँठ चलेकाले स्थानीयले चिसो महशुस गरेका हुन् ।
सर्लाहीमा अहिले उत्तरी भेगका परवानिपुर, कालिन्जोर, पत्थरकोट, परवानीपुर, अत्रौलीलगायत क्षेत्रमा पारिलो घाम लागेर चुरेपाखाका गाउँ छर्लङ्ग उघ्रिएका छन् ।
पूर्व–पश्चिम राजमार्ग क्षेत्रका लालबन्दी, रानिगन्ज, नवलपुर, हरिवन, नयाँरोड, बागमतीसहित यस आसपासका क्षेत्रमा पनि घाम लाग्न थालिसकेको छ । सदरमुकाम मलंगवा तथा दक्षिणी बेल्टका गोडैता, बलरा, रामनगर, हरिपूर्वा, ब्रहपुरी, संग्रामपुर क्षेत्रमा पनि हुस्सुकै बीच घाम देखा पर्न थालेको स्थानीयले बताएका छन् ।
पुसको पहिलो साता पनि बित्न लाग्दा समेत तराई मधेशमा यो वर्ष लगातार शितलहर चलेको छैन् । शितलहर नचलेपनि बिहान–बेलुका र राति कठ्यांग्रिदो चिसो नै छ ।