हरिवन – खानेपानीको मोटर जल्दा सर्लाहीको हरिवनमा पिउने पानी अभाव भएको छ ।
हरिवन नगरपालिका वडा नं. ८ मा रहेको खानेपानीको डिप बोरिङमा जडित ४१ हर्षपावरको मोटर चार दिनअघि जलेपछि एक हजार सात सय परिवारमा खानेपानीको समस्या भएको हो ।
उक्त खानेपानी आयोजनामार्फत हरिवनको वडा नं. ८ र ११ मा खानेपानी वितरण हुँदै आएको छ । खानेपानीको आफ्नै डिप बोरिङ नहुँदा सिँचाईका लागि भनेर खनिएको डिप बोरिङमा मोटर जडान गरेर पानी वितरण गरिँदै आएको हरिवन ८ का वडाध्यक्ष प्रज्वल ढुङ्गानाले जानकारी दिए । उनले नयाँ मोटरका लागि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मलङ्गवामा पहल गरिएको बताए ।
तत्कालका लागि अत्रौली खानेपानी आयोजनाबाट कम क्षमताको मोटर ल्याएर जडान गरेपनि यसअघिको मोटरले झैँ उपभोक्तालाई पर्याप्त पानी पुर्याउन नसकेको उनले सुनाए ।
खानेपानी कार्यालयले काठमाडौँबाट मगाइएको मोटर आज आउँदै गरेको र भोलीसम्ममा मोटर जडान भइसक्ने जनाएको छ । कार्यालयका इन्जिनियर रामनाथ साहले काठमाडौँबाट आपूर्तिकर्ताले मोटर पठाइसकेको जानकारी दिएका र भोलीसम्ममा मोटर जडान भइसक्ने उज्यालो अभियानसँग बताए ।
वडाध्यक्ष ढुङ्गानाका अनुसार अहिले सिँचाईको डिप बोरिङबाट खानेपानीको ओभरहेड ट्याङकीमा पानी चढाउने गरेको भएपनि अब खानेपानीको आफ्नै डिप बोरिङ खन्ने तयारी रहेको बताए । डिप बोरिङ गाड्न जग्गा प्राप्त भइसकेको वडाध्यक्ष ढुङ्गानाको भनाई छ ।