logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

उपसचिव खनाल पनि हरिपूर्वा आउन मानेनन


  • उज्यालो अभियान

हरिपूर्वा नगरपालिकाको कार्यालय । (तस्बीर : उज्यालो अभियान)

हरिपूर्वा – उपसचिव बासुदेव खनालले पनि सर्लाहीको हरिपूर्वा नगरपालिकामा सरुवा भएर आउन अस्वीकार गरेका छन् ।

काठमाडौँको शङ्खरापुर नगरपालिकामा कार्यरत उपसचिव खनाललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन साताअघि नै हरिपूर्वा नगरपालिकामा सरुवा गरेको थियो । आफू खनाललाई लिएर आउन भनी काठमाडौँमै पुगेको तर खनालले हरिपूर्वा जाँदै जान्न भनेका नगरप्रमुख विनोदकुमार साह तेलीले उज्यालो अभियानलाई सुनाए ।

नयाँ प्रमुख प्रशासकीय अधिकृत कोही पनि आउन नमान्दा समस्या भएको नगरप्रमुख साहको गुनासो छ । “खनाल जि त हरिपूर्वा जान्दै जान्न भन्नुहुन्छ, मन्त्रालयले अर्को कोही प्रमुख प्रशासकीय अधिकृत पनि दिन सकेको छैन्,” नगरप्रमुख साहले भने ।

मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा आफ्नो नगरपालिका अझै बन्धक नै बन्ने निश्चित रहेको नगरप्रमुख साहले बताए । हरिपूर्वा नगरपालिकामा गएको असोज १८ गते हाजिर भएका उपसचिव शम्भुप्रसाद यादवलाई २४ घण्टामै फिर्ता बोलाइएको थियो ।

जनप्रतिनिधिबीच टकराब रहेको यस नगरपालिकामा कोही पनि उपसचिव प्रमुख प्रशासकीय अधिकृत भएर आउन मानेका छैनन् । नगरपालिकाले यो वर्ष नगरसभा गर्न सकेको छैन् ।

नगरप्रमुख साहले प्रमुख प्रशासकीय अधिकृत भइदिए आफू आन्तरिक विवाद मिलाएर नगरसभा गर्न सक्षम रहेको बताउँदै आएका छन् ।

नगरसभा नहुँदा शिक्षक, कर्मचारीको तलब, भत्ता र वृद्धवृद्धाको सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन् । बजेट नहुँदा वडा तथा नगरपालिका कार्यालय सञ्चालन गर्नै समस्या हुन थालेको गुनासो कर्मचारीले गरेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा असार अन्तिमतिर हाजिर हुन आएका उपसचिव निमेश मिश्र केही दिन बसेर तलब तथा सामाजिक सुरक्षा भत्ता निकासा हुनासाथ सरुवा गराएर गएका थिए ।