फाइल तस्बीर ।
हरिवन, ०२ पुस – उखुकाे मूल्य कायम लगायत विभिन्न माग राखेर आन्दाेलनरत सर्लाहीका उखु किसान आज (साेमबार) महेन्द्र राजमार्गमा लम्पसार परेका छन् ।
उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलनरत किसान अगूवाहरु हरिवन बजार स्थित महेन्द्र राजमार्गमा लम्पसार परेर सुत्दै विराेध जनाएका हुन् । विराेध कार्यक्रममा मधेश प्रदेश सभा सदस्य जवाहर कुशवाहा, पूर्व प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, नेपाली कांग्रेस हरिवन नगर सभापति रामशरण उप्रेती, नेकपा माओवादी केन्द्र हरिवन अध्यक्ष अर्जुन पन्त, हरिवन नगरपालिका-११ का वडाध्यक्ष शेष मेहबुव रेजा, मिलगेट उखु उत्पादक समिति हरिवनका अध्यक्ष राजकुमार उप्रेती सहित किसान अगुवाहरुकाे उपस्थिती रहेकाे थियाे । दिउँसाे २ बजेदेखि आधाघण्टा राजमार्गमा लम्पसार परेर विराेध प्रदर्शनकाे कार्यक्रम राखिएकाे मिलगेट उखु उत्पादक समितिका अध्यक्ष उप्रेतीले जानकारी दिए । नेपाल उखु उत्पादक महासंघ, मिलगेट उखु उत्पादक समिति, किसान हकहित संरक्षण समिती लगायत उखु किसान सम्बद्द संघ-संगठनकाे संयुक्त आयाेजनामा साता दिनदेखि हरिवनमा विराेध प्रदर्शन भईरहेकाे छ ।
यसैबीच उखु किसानका लागि विभिन्न ६ बुँदे माग राख्दै हरिवन नगरपालिका-११ निवासी शेष इस्तिहारले आमरण अनसन सूरु गरेका छन् । गत स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट हरिवन-११ मा वडाध्यक्षका प्रत्यासी समेत रहेका इस्तिहारले आज साेमबार बिहान साँढे ११ बजेबाट ईन्दुशंकर चिनी उद्याेगकाे मूलगेटमा अनसन सूरु गरेका हुन् ।