आमरण अनसनमा बसेका शेष इस्तिहार । (तस्बिर : उज्यालो अभियान)

आमरण अनसनकारी शेष इस्तिहारले राखेका मागहरु । (तस्बिर : उज्यालो अभियान)
हरिवन – उखु किसानका लागि विभिन्न ६ बुँदे माग राख्दै हरिवन नगरपालिका-११ निवासी शेष इस्तिहारले आमरण अनसन सूरु गरेका छन् ।
गत स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट हरिवन-११ मा वडाध्यक्षका प्रत्यासी समेत रहेका इस्तिहारले आज सोमबार बिहान साँढे ११ बजेबाट ईन्दुशंकर चिनी उद्योगको मूलगेट छेउमा अनसन सूरु गरेका हुन् । अनसनकारी इस्तिहारको माग प्रतिक्वीन्टल उखुको ७५० रुपैंया हुनुपर्ने, सरकारले गत सिजनकै दिन बाँकी अनुदान रकम तुरुन्त भुक्तानी गर्नुपर्ने, उखुको प्रर्वधन शब्द हटाई नियमानुसार अनुदान रकम सोही आर्थिक वर्षमा भुक्तानी गर्नुपर्ने, उन्नत जातको उखुको बिउको प्रवन्ध गर्नुपर्ने, कृषि योग्य जमीनमा सिंचाइको व्यवस्था गर्नुपर्ने, किसानलाई चाहिने मल खाधको प्रवन्ध गर्नुपर्ने लगायत रहेको छ ।
उनलाई प्रदेश सभा सदस्य जवाहर कुशवाहा, मिलगेट उखु उत्पादक समिति हरिवनका अध्यक्ष राजकुमार उप्रेती, नेकपा माओवादी केन्द्र हरिवनका अध्यक्ष अर्जुन पन्त, नेतृ पद्मा मोक्तान, किसान नेता दिपेन्द्र मैनाली लगायतले माला लगाएर सम्मान गर्दै अनसन सुरु गराएका हुन् । केहीवर्ष अघि हरिवन नगरपालिका-११ का वडाध्यक्ष शेष मेहबुब रेजा समेत उखु किसानको समस्या समाधानको माग राख्दै आमरण अनसन बसेका थिए ।
त्यस्तै उखु मूल्य विषयमा सर्लाहीका उखु किसानले हिजो (आईतबार) दिउँसो हरिवनमा संघीय सरकारका अर्थ र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको ब्यानरको प्रतिमा बनाएर दहन (आगो लगाएका) गरेका थिए । कृषि तथा पशुपंक्षी विकास नभई विनास मन्त्रालय तथा अर्थ नभई अनर्थ मन्त्रालयको रुपमा व्यंग्यात्मक ब्यानर प्रदर्शन गर्दै उक्त व्यानर जलाएका हुन् । महेन्द्र राजमार्गको कडरिया चोकमा जम्मा भएका किसानले सरकार र चिनी उद्योगी विरुद्द नाराबाजी समेत गरेका छन् ।
उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलन सुरु गरेका किसानले शनिबार हरिवनमा उखुको लाक्रा बोकेर नारबाजी सहित जुलुस निकालेका थिए । हरिवन बजारबाट सूरु भएको जुलुस ईन्दुशंकर चिनी उद्योग सामुन्ने पुगेर पुनस् हरिवन बजारमै आई विरोध सभामा परिणत भएको थियो ।
आन्दोलनको तयारी स्वरुप शुक्रबार नै हरिवनमा किसानहरुको बृहत भेला समेत सम्पन्न भएको थियो । किसान नेताहरुले यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ कायम गर्न माग गरेका छन् । त्यस्तै, गत वर्ष सरकारले दिनुपर्ने ७० रुपियाँमध्ये अहिलेसम्म २१ रुपियाँ मात्रै प्राप्त भएको र बाँकी ४९ रुपियाँ यथाशीघ्र भुक्तानी गर्न माग गर्दै आन्दोलन थालेका हुन् ।
नेपाल उखु उत्पादक महासंघ, मिलगेट उखु उत्पादक समिति र किसान हकहित संरक्षण समितीको संयुक्त आयोजनामा विरोध प्रदर्शन भईरहेको छ
धमाधम उखु काटेर बेच्नुपर्ने बेला सरकारले उखुको मूल्य नतोक्दा किसान निराश बनेका छन् । मूल्य नतोकी मिल नचलाउन किसानले आग्रह गरेपछि देशकै सबैभन्दा ठूला दुई चिनी उद्योग इन्दुशंकर चिनी उद्योग हरिवन र एभरेष्ट चिनी मिल रामनगर महोत्तरीले उखु क्रसिङ सुरु गर्न पाएका छैनन् ।
चिनीको बढ्दो मूल्य र उखु उत्पादन लागतलाई आधार मानेर यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपियाँ पाउनुपर्ने नेपाल उखु उत्पादक महनसंघका अध्यक्ष कपिलमुनी मैनालीको भनाई छ । मंसिर २५ गते कृषि मन्त्रालयमा भएको वार्तामा सरकारले उखुको मूल्य ५६५ प्रस्ताव गरेपनि अस्वीकार गरिएको मिलगेट उखु उत्पादक समितिका अध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिए । गत वर्ष सरकारी अनुदानसहित उखुको मूल्य ६१० रुपैयाँ कायम भएको थियो ।