logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

कब्रस्थानबाट शव निकालिएकी युवती मृत्यु प्रकरण : सौतेनी आमा कारागार चलान


  • उज्यालो अभियान

मृतक तवसुनकी सौतेनी आमा सकिना खातुन ।

फरार अभियुक्त शेख चाँद भन्ने शेख मिर अमजा ।

मलंगवा, मंसिर ३० – सर्लाही जिल्ला हरिवन नगरपालिका–११, बालगंगाको मुस्लिम बस्ती स्थित कब्रस्थानमा गाडिएकी एक युवतीको शव परीक्षण प्रकरणमा पक्राउ परेकी सौतेनी आमा कारागार चलान भएकी छिन् ।

हरिवन–११ निवासी शेख ईर्सादकी छोरी १७ वर्षीया तवसुन खातुनको हत्या भएको दाबी सहित ईलाका प्रहरी कार्यालय हरिवनले जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो । युवतीको मृत्यु शंकाष्पद् भन्दै ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले कब्रस्थानमा गाडिएको शव गत मंसिर ३ गते निकालेर प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टम गराएको थियो ।

कात्तिक ३ गते प्रहरीले उत्खनन् गर्ने क्रममा कब्रस्थानमा गाडिएको अवस्थामा तवसुनको शव ।

थुनछेक बहस सम्पन्न भएपछि शुक्रबार जिल्ला न्यायाधिश ५ चन्दकान्त पौडेलको ईजलासले तवसुनकी सौतेनी आमा सकिना खातुनलाई पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला न्यायाधिवक्ता कैलाश दाहालले जानकारी दिए । सोही मुद्धामा प्रहरीले अभियुक्त बनाएका तवसुनका बुबा शेख ईर्साद, झडकेला दाजु अर्थात सकिनाका छोरा शेख चाँद भन्ने शेख मिर अमजा र अमजाकी पत्नी जिन्नत खातुन फरार रहेका छन् ।

सकिनालाई पूर्पक्षका लागि कारागार चलान गर्ने आदेशसँगै फरार अभियुक्तलाई पनि पक्राउ पूर्जी जारी भएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए । सकिनालाई शनिबार बिहानै सिन्धुली कारागार पठाईएको प्रहरीले जनाएको छ ।

कब्रस्थानमा गाडिएको अवस्थामा तवसुनको शव उत्खनन् गर्ने क्रममा खटिएका सुरक्षाकर्मी ।

घाँटीमा दबाब दिएका कारण युवतीको मृत्यु भएको पोष्टमार्टम रिपोर्ट आएपछि प्रहरीले अभियुक्तहरु विरुद्ध कर्तव्य ज्यान मुद्धामा कार्बाही प्रकृया अगाडी बढाएको थियो । तवसुन मृत्यु प्ररणमा पक्राउ परेकी उनकी सौतेनी आमा ४५ वर्षीया सकिना खातुनको बयान र अस्पतालबाट आएको पोष्टमार्टम रिपोर्टमा ‘आकाश–जमिन’को फरक आएपछि प्रहरीले हत्या भएको दाबी सहित मुद्धा प्रकृया अगाडी बढाएको हो । सकिनाले पक्राउ परेदेखि निरन्तर पेट दुखेर तवसुनको मृत्यु भएको बयान दिएपनि पोष्टमार्टम रिपोर्टमा घाँटीमा दबाब दिएको देखिएपछि प्रहरीले तवसुनको हत्या भएको दाबी सहित जिल्ला सरकारी वकिल कार्यालय मलंगवामा गत मंगलबार फाईल पठाएको थियो ।

पक्राउ परेकी सकिनाले मृतकका बुबा ईर्साद र दाजु शेख चाँद १ महिना अघिदेखि बाहिर रहेको बताएपनि तवसुनको मृत्यु भएको दिन दुवैजनाले प्रयोग गर्ने सिमको ‘लोकेसन’ हरिवनमै देखिएकाले तवसुनको मृत्युमा प्रहरीले अभियुक्तहरुको कर्तव्य दाबी गरेको छ । पोलिग्राफ मेशिनले परीक्षण गर्दा समेत पक्राउ परेकी अभियुक्त सकिनाले झुठा बोलेको रिपोर्ट आएको जिल्ला न्यायाधिवक्ता दाहालले जानकारी दिए ।
प्रहरीका अनुसार एक्कासी पेट दुखेर मृत्यु भएको भन्दै गत कात्तिक २६ गते तवसुनको शव परिवार र स्थानीय मिलेर कब्रस्थानमा दाहसंस्कार (खाडल खनेर गाडेका) गरेका थिए । तर तवसुनको मृत्यु नभई हत्या हुनसक्ने भन्दै सुराकी आएपछि प्रहरीले मंसिर ३ गते कब्रस्थानको खाडलबाट शव निकालेर पोष्टमार्टम गराएको थियो । प्रादेशिक अस्पताल मलंगवामा तवसुनको शव पोष्टमार्टमसँगै प्रहरीले भिसेरा परीक्षणका लागि मुटु, फोक्सो र कलेजोको टुक्रा समेत विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएको छ ।

मंसिर १ गते राती कब्रस्थानबाट तवसुनको शव उत्खनन् गर्ने क्रममा स्थानीयले ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल राज गिरी सहित अन्य सुरक्षाकर्मीलाई दुर्व्यवहार समेत गरेका थिए ।

यो पनि पढ्नोस

‘कब्रस्थानमा गाडेको शव निकालेर परीक्षण गर्दा तवसुनको हत्या देखियो’-प्रहरी

कब्रस्थानबाट शव निकालिएकी युवती मृत्यु प्रकरणका अभियुक्त नागरिकता काण्डमा पनि तानिए

युवती शंकास्पद मृत्यु प्रकरण : शव खाल्डोबाट निकालेर पोष्टमार्टम गर्न मलंगवा लगियो