logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

कब्रस्थानबाट शव निकालिएकी युवती मृत्यु प्रकरणका अभियुक्त नागरिकता काण्डमा पनि तानिए


  • उज्यालो अभियान

शेख चाँद भन्ने शेख मिर अमजा ।

मतदाता नामाबलीमा दर्ता भएको शेख मिर हमजाको नेपाली नागरिकता प्रमाण–पत्रको नमूना ।

हरिवन, मंसिर २१ – सर्लाही जिल्ला हरिवन नगरपालिका-११, बालगंगाको मुस्लिम बस्ती स्थित कब्रस्थानमा शव गाडिएकी युवतीको शंकाष्पद् मृत्यु प्रकरणका एक अभियुक्त नेपाली नागरिकता प्रमाण-पत्र काण्डमा समेत तानिएका छन् ।

हरिवन–११ निवासी शेख ईर्सादकी छोरी १७ वर्षीया तवसुन खातुनको मृत्यु शंकाष्पद् भन्दै ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले कब्रस्थानमा गाडिएको शव गत मंसिर ३ गते निकालेर प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टम गराएको थियो । प्रहरी अनुसन्धानका क्रममा अभियुक्त बनेका शेख चाँद भन्ने शेख मिर हमजाले नेपाली नागरिकता प्रमाण–पत्र समेत झुठा विवरण दिएर लिएको देखिएको छ ।

उनले लिएको नागरिकता प्रमाण-पत्रमा मामालाई बुबा बनाएको देखिएको प्रहरीले जनाएको छ । आमा सकिना खातुनको पहिलो श्रीमान भारतीय नागरिक अब्दुल कादिरका छोरा शेखले हाल सर्लाहीको कौडेना गाउँपालिकामा पर्ने तत्कालिन सक्रौल गाविस-८ निवासी शेख जिलानीलाई बुबा बनाएर नागरिकता लिएको देखिएको प्रहरीले जनायो ।

हाल ईलाका प्रहरी कार्यालय हरिवनको हिरासतमै रहेकी तवसुन मृत्यु प्रकरणकी अभियुक्त शेखकी आमा सकिनाले नागरिकता प्रमाण-पत्रमा बुबाको महलमा नाम लेखिएका शेख जिलानी आफ्नै दाजु भएको बताएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आप्नै बुबा अब्दुल कादिर र अहिलेका झड्केला बुबा शेख ईर्साद भारतीय नागरिक रहेकाले मामा शेख जिलानीलाई बुबा तथा सकिनालाई आमा बनाएर २०७३ साल वैशाख २२ गते शेख चाँदले जिल्ला प्रशासन कार्यालय मलंगवाबाट नेपाली नागरिकता प्रमाण-पत्र लिएका थिए ।

२०७३ सालमा नागरिकता बनाउन त्यतिखेर सक्रौलका गाविस सचिब रहेका रामगुलाम राय यादवले शेखको २०५५ साल वैशाख १० गते जन्म भएको भन्दै प्रतिलिपी जन्मदर्ता दिने र नागरिकता प्रमाण पत्रका लागि सिफारिस गरेको देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हाल ईश्वरपुर नगरपालिका-१५ का वडा सचिबको जिम्मेवारीमा रहेका रामगुलाम, नागरिकता लिने शेख चाँद भन्ने शेख मिर हमाजा फरार रहेको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल राज गिरीले जानकारी दिए ।

शेख चाँदका नक्कली बुबा बनेका शेख जिलानीलाई भने नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ । जिलानीलाई गत आईतबार जिल्ला अदालत सर्लाहीबाट ५ दिन म्याद लिएर अनुसन्धान अगाडी बढाएको प्रहरीले आज विहिबार पुनः ५ दिन म्याद लिएको छ । प्रहरीले अभियुक्तहरु विरुद्ध झुठा विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा मुद्धा प्रकृया अगाडी बढाएको छ ।

तवसुन र शेख चाँदबीचको नाता के हो ?

प्रहरीका अनुसार अभियुक्त शेख चाँद मृतक युवती तवसुनका झड्केलो दाजु हुन् । अर्थात सकिना खातुनले तवसुनका बुबा शेख इर्सादसँग विबाह गर्दा पहिलाकै श्रीमानतर्फ जन्मिएका शेख चाँदलाई समेत लिएर आएकी थिईन् । ईर्साद र सकिनाले २०६५ सालतिर बिबाह गरेका हुन् । मृतक तवसुन भने शेख ईर्सादकी जेठी श्रीमति तर्फकी छोरी हुन् ।

प्रहरीका अनुसार एक्कासी पेट दुखेर मृत्यु भएको भन्दै गत कात्तिक २६ गते तवसुनको शव परिवार र स्थानीय मिलेर कब्रस्थानमा दाहसंस्कार (खाडल खनेर गाडेका) गरेका थिए । तर तवसुनको मृत्यु नभई हत्या हुनसक्ने भन्दै सुराकी आएपछि उनको शव मंसिर ३ गते प्रहरीले कब्रस्थानको खाडलबाट निकालेर पोष्टमार्टम गराएको थियो । प्रादेशिक अस्पताल मलंगवामा तवसुनको शव पोष्टमार्टमसँगै प्रहरीले भिसेरा परीक्षणका लागि मुटु, फोक्सो र कलेजोको टुक्रा समेत विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएको छ ।

तवसुन मृत्यु प्रकरणमा उनका बुबा शेख ईर्साद, सौतेनी आमा सकिना, झड्केला दाजु शेख चाँद र चाँदकी श्रीमति जिन्नत खातुनलाई अभियुक्त बनाएर ईलाका प्रहरी कार्यालय हरिवनले अनुसन्धान अगाडी बढाएको छ । जसमा मृतक तवसुनकी सौतेनी आमा सकिना बाहेक सम्पूर्ण अभियुक्त फरार छन् ।

मृतकका बुवा सेख ईर्साद र दाई सेख चाँद फरार रहेका छन् । अब २–४ दिनभित्रै तवसुनको मृत्यु सहज हो की कर्तव्य ज्यान हो भन्ने कुरा खुल्ने ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।