logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

‘कब्रस्थानमा गाडेको शव निकालेर परीक्षण गर्दा तवसुनको हत्या देखियो’-प्रहरी


  • उज्यालो अभियान

मृतक तवसुनकी सौतेनी आमा सकिना खातुन ।

अभियुक्त शेख चाँद भन्ने शेख मिर अमजा ।

मलंगवा, मंसिर २८ – सर्लाही जिल्ला हरिवन नगरपालिका–११, बालगंगाको मुस्लिम बस्ती स्थित कब्रस्थानमा शव गाडिएकी एक युवतीको हत्या भएको दाबी सहित ईलाका प्रहरी कार्यालय हरिवनले कार्बाही प्रकृया अगाडी बढाएको छ । हरिवन–११ निवासी शेख ईर्सादकी छोरी १७ वर्षीया तवसुन खातुनको मृत्यु शंकाष्पद् भन्दै ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले कब्रस्थानमा गाडिएको शव गत मंसिर ३ गते निकालेर प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टम गराएको थियो ।

कात्तिक ३ गते प्रहरीले उत्खनन् गर्ने क्रममा कब्रस्थानमा गाडिएको अवस्थामा तवसुनको शव ।

घाँटीमा दबाब दिएका कारण युवतीको मृत्यु भएको पोष्टमार्टम रिपोर्ट आएपछि प्रहरीले अभियुक्तहरु विरुद्ध कर्तव्य ज्यान मुद्धामा कार्बाही प्रकृया अगाडी बढाएको छ । तवसुन मृत्यु प्ररणमा पक्राउ परेकी उनकी सौतेनी आमा ४५ वर्षीया सकिना खातुनको बयान र अस्पतालबाट आएको पोष्टमार्टम रिपोर्टमा ‘आकाश–जमिन’को फरक आएपछि प्रहरीले हत्या भएको दाबी सहित कार्बाही प्रकृया अगाडी बढाएको हो । सकिनाले पक्राउ परेदेखि निरन्तर पेट दुखेर तवसुनको मृत्यु भएको बयान दिएपनि पोष्टमार्टम रिपोर्टमा घाँटीमा दबाब दिएको देखिएपछि प्रहरीले तवसुनको हत्या भएको दाबी सहित जिल्ला सरकारी वकिल कार्यालय मलंगवामा गत मंगलबार फाईल पठाएको छ ।

कब्रस्थानमा गाडिएको अवस्थामा तवसुनको शव उत्खनन् गर्ने क्रममा खटिएका सुरक्षाकर्मी ।

अभियुक्तहरु विरुद्ध कर्तव्य ज्यान मुद्धामा बुधबार जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता कैलाश दाहालले जानकारी दिए । ‘पक्राउ परेका अभियुक्तहरु विरुद्ध कर्तव्य ज्यान मुद्धामा अभियोग पत्र दायर गरिएको छ’, न्यायाधिवक्ता दाहालले विहिबार उज्यालो अभियानसँग भने, ‘आजबाट थुनछेकको बहस सूरु भएको छ ।’

प्रहरीले तवसुन मृत्यु घटनामा उनका बुबा शेख ईर्साद, सौतेनी आमा सकिना खातुन, झडकेला दाजु शेख चाँद भन्ने शेख मिर अमजा र अमजाकी पत्नी जिन्नत खातुनलाई अभियुक्त बनाएको छ । शेख ईर्साद, शेख चाँद र जिन्नत खातुन भने फरार छन् ।

पक्राउ परेकी सकिनाले मृतकका बुबा ईर्साद र दाजु शेख चाँद १ महिना अघिदेखि बाहिर रहेको बताएपनि तवसुनको मृत्यु भएको दिन दुवैजनाले प्रयोग गर्ने सिमको ‘लोकेसन’ हरिवनमै देखिएकाले तवसुनको मृत्युमा प्रहरीले अभियुक्तहरुको कर्तव्य दाबी गरेको छ । पोलिग्राफ मेशिनले परीक्षण गर्दा समेत पक्राउ परेकी अभियुक्त सकिनाले झुठा बोलेको रिपोर्ट आएको जिल्ला न्यायाधिवक्ता दाहालले जानकारी दिए ।

प्रहरीका अनुसार एक्कासी पेट दुखेर मृत्यु भएको भन्दै गत कात्तिक २६ गते तवसुनको शव परिवार र स्थानीय मिलेर कब्रस्थानमा दाहसंस्कार (खाडल खनेर गाडेका) गरेका थिए । तर तवसुनको मृत्यु नभई हत्या हुनसक्ने भन्दै सुराकी आएपछि प्रहरीले मंसिर ३ गते कब्रस्थानको खाडलबाट शव निकालेर पोष्टमार्टम गराएको थियो । प्रादेशिक अस्पताल मलंगवामा तवसुनको शव पोष्टमार्टमसँगै प्रहरीले भिसेरा परीक्षणका लागि मुटु, फोक्सो र कलेजोको टुक्रा समेत विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएको छ ।

मंसिर १ गते राती कब्रस्थानबाट तवसुनको शव उत्खनन् गर्ने क्रममा स्थानीयले ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल राज गिरी सहित अन्य सुरक्षाकर्मीलाई दुर्व्यवहार समेत गरेका थिए ।

याे पनि पढ्नाेस

कब्रस्थानबाट शव निकालिएकी युवती मृत्यु प्रकरणका अभियुक्त नागरिकता काण्डमा पनि तानिए

युवती शंकास्पद मृत्यु प्रकरण : शव खाल्डोबाट निकालेर पोष्टमार्टम गर्न मलंगवा लगियो