logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

आज बिहानैबाट उघ्रियो मौसम, पारिलो घामले राहत


  • उज्यालो अभियान

लालबन्दी नगरपालिका १५ स्थित चुरेभेगमा घाम लागेर उघ्रिँदै गरेको मौसम । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीको मौसम आज बिहानैबाट उघ्रिएर पारिलो घाम लागिरहेको छ ।

जिल्लाको सबैभेगमा सामान्य मात्रामा हावा चलेर पारिलो घाम लागेको हो । घाम लाग्दा स्थानीयले आज न्यानो महशुस गरेका छन् ।

अघिल्ला दिनहरुमा झैँ आज बाक्लो मात्रामा हुस्सु लागेन । यो वर्ष भोलीबाट पुस सुरु हुन लाग्दा पनि लगातार हुस्सु र शितलहर भने चलेको छैन् ।

साँझ–बिहान र रातको समयमा जाडो भएपनि दिउँसोपख पारिलो घाम लागेर न्यानो नै हुने गरेको छ ।

उता, काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली भएको छ । अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा बदली र अरु ठाउँमा मौसम सामान्यतया सफा नै छ । मौसम बदली भएका ठाउँमा पनि पानी पर्ने सम्भावना नरहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए । कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

काठमाण्डौमा आज बिहानको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । बादल लागेका कारण हिजो बिहानको तुलनामा आज न्यूनतम तापक्रम शून्य दशमलव ५ डिग्री बढेको मौसमविद् लामिछानेले बताए ।

हिजो बिहान काठमाण्डौको न्यूनतम तापक्रम ६ डिग्री रहेको थियो । काठमाडौँमा पनि बिहान/बेलुका चिसो छ । चिसोबाट हुन सक्ने असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध गरेको छ ।