logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

१५ दिनसम्म धर्नामा बस्दा पनि तलब नपाएपछि शिक्षकद्वारा गाउँपालिकामै तालाबन्दी


  • उज्यालो अभियान

चन्द्रनगर – तलब माग गर्दै १५ दिनदेखि विद्यालय बन्द गरेर धर्नामा बसेका सर्लाहीको चन्द्रनगर गाउँपालिकाका शिक्षकले मंगलबार गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।

१५ दिनसम्म धर्नामा बस्दा समेत जनप्रतिनिधिले तलबभत्ता निकासाका लागि कुनै पहल नगरेको भन्दै आन्दोलित शिक्षकले मंगलबारबाट गाउँपालिका कार्यालयमा समेत तालाबन्दी गरेका हुन् । चालू आर्थिक वर्ष २०८०÷०८१ को तलबभत्ता, विद्यालय सन्चालन खर्च तथा विद्यार्थीका लागि दिवा खाजाको रकम निकासाको माग गर्दै गाउँपालिकाभित्रका सम्पूर्ण शिक्षक मङ्सिर १२ गतेदेखि गाउँपालिका कार्यालयमा धर्नामा बसेका छन् ।

शिक्षकको आन्दोलनले १५ दिनदेखि गाउँपालिकाभित्रका २२ वटा सामुदायिक विद्यालय बन्द छन् । विद्यालय बन्द हुँदा करिव छ हजार विद्यार्थी पढाइबाट बन्चित हुनुपरेको छ ।

नेपाल शिक्षक महासङ्घ चन्द्रनगर गाउँपालिका समितिका अध्यक्ष सरोजकुमार सिंहले आपसमा विवाद गरिरहेका जनप्रतिनिधिले आफूहरु १५ दिनसम्म धर्नामा बस्दा समेत छलफलधरी नगरेको गुनासो गरे । प्रमुख प्रशासकीय अधिकृत र स्थानीय प्रहरी अधिकारीलगायतसँग समन्वय गरी बारम्बार छलफलको वातावरण बनाउन खोज्दा पनि जनप्रतिनिधिले बेवास्ता गरेको आन्दोलित शिक्षकको गुनासो छ ।

जनप्रतिनिधिले समस्या समाधानतर्फ चासो नदेखाएपछि बाध्य भई गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको शिक्षक महासङ्घका अध्यक्ष सिंहले बताए । उनले कर्मचारी समेतको समर्थनमा गाउँपालिकामा तालाबन्दी गरिएको जानकारी दिए ।

माग सम्वोधन नहुन्जेल विद्यालय बन्द र गाउँपालिकामा धर्नाको कार्यक्रम जारी रहने आन्दोलित शिक्षकले बताएका छन् । चन्द्रनगर गाउँपालिकामा राजनीतिक टकराबले गाउँसभा हुन नसक्दा बजेट चलेको छैन् ।

गाउँपालिकामा आर्थिक गतिविधि पूर्णरुपमा ठप्प छ । छलफलमा बसेर समस्या समाधान गर्नुको साटो गाउँपालिका अध्यक्ष र उपाध्यक्षको समूह आरोप–प्रत्यारोपमै सक्रिय देखिन्छ ।

१५ सदस्यीय कार्यपालिकामा अध्यक्ष राजकुमार महतोसहित तीन जना एकातर्फ र उपाध्यक्ष गीतादेवी महतोसहित बाँकी १२ जना अर्कोतर्फ रहेका छन् ।