logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

गायनमा कर्मैया मा.वि. का छात्र एस्मिन पहिलो


  • उज्यालो अभियान

कर्मैया – सर्लाहीको बागमती नगरपालिकाले आयोजना गरेको नगरस्तीय गायन प्रतियोगितामा श्री ५ महेन्द्र जनता माध्यमिक विद्यालय बागमती ११ कर्मैयाका छात्र एस्मिन श्रेष्ठ पहिलो भएका छन् ।

नगरको शिक्षा शाखाले वार्षिक शैक्षिक क्यालेण्डर अनुसार जनता नमूना माध्यमिक विद्यालय बागमती ५ राजघाटमा आयोजना गरेको गायन प्रतियोगितामा श्रेष्ठ प्रथम भएका हुन् । प्रतियोगितामा जनता नमूना माध्यमिक विद्यालय राजघाटकी छात्रा रजिसा मिरिङचिङ दोस्रो र नव जनजागरण माध्यमिक विद्यालय बागमती ८ सोल्टीका छात्र सुदीपकुमार महतो तेस्रो भएका छन् ।

पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई एक/एक थान गितार, कप, मेडल र प्रमाण–पत्र प्रदान गरिएको बागमती नगरपालिकाको शिक्षा शाखाले जनायो । नगर उपप्रमुख लीलाकुमारी मोक्तान, अन्य जनप्रतिनिधि, शिक्षा शाखाका प्रमुख मिनप्रसाद उपाध्यायलगायत भएर पुरस्कार वितरण गरेका हुन् ।

प्रतियोगितामा नगरभित्रका सातवटा माध्यमिक विद्यालयमा एक जना छात्र र एक जना छात्रा गरी १४ जनाले सहभागिता जनाएका थिए ।

विद्यार्थीभित्र रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले वार्षिक शैक्षिक क्यालेण्डर नै बनाएर गायनसहित अन्य प्रतियोगिता आयोजना गर्दै आइरहको नगर उपप्रमुख मोक्तानले बताए ।