भदौ ३ गते हाजिर हुन आउँदा मन्तव्य राख्दै गरेका उपसचिव धर्मानन्द जोशी (उभिएर खादा लगाएका) ।
लालबन्दी – उपसचिव धर्मानन्द जोशीबाट काम गर्न अप्ठेरो परेको भन्दै लालबन्दी नगरपालिकाले उनलाई मन्त्रालयमा काज फिर्ता पठाएको छ ।
जोशी गएको भदौ ३ गते लालबन्दी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका थिए । नगरप्रमुख बासुदेव अधिकारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखी जोशीलाई मन्त्रालयमा काज फिर्ता पठाइएको उल्लेख गरेका छन् ।
उनले हस्ताक्षर गरेको पत्रमा “जोशीको छोटो समयको कार्य सम्पादन मूल्यांकन तथा दैनिक गरिने व्यवहार हेर्दा आवश्यकता अनुसार समन्वय, सहकार्य र सहभागिताको माध्यमबाट वार्षिक स्वीकृत योजनाहरु सम्झौता गरी कार्यान्वयन गर्न, नागरिकहरुमा सेवा प्रवाह गर्न, दातृ निकाय, संघसंस्थासँग साझेदारी गर्ने समेतका विभिन्न तह, तप्काबाट प्राप्त हुने जनगुनासो सुन्ने जस्ता काम गर्न गराउन नसकिने देखिएकाले निजलाई मन्त्रालयमै हाजिर हुनेगरी काज फिर्ता गरी पठाइएको छ,’ भनी उल्लेख छ ।
सामाचार स्रोतका अनुसार ‘खरो’ स्वभावका उपसचिव जोशीसँग जनप्रतिनिधि र कर्मचारी सन्तुष्ट थिएनन् । उनीसँग केही वडाध्यक्षको विवाद नै पर्यो ।
नगरप्रमुख, वडाध्यक्ष सबैले बैठक नै गरेर नरम बन्न आग्रह गरेपनि कडिकडाउ गर्न नछाडेपछि उपसचिव जोशीलाई काज फिर्ता पठाइएको हो । नगरप्रमुख अधिकारीले नयाँ प्रमुख प्रशासकीय अधिकृत ल्याउन पहल भइरहेको बताए ।
नगरप्रमुख अधिकारीसहितले लालबन्दी नै घर भएका उपसचिव वसन्त न्यौपानेलाई लालबन्दी ल्याउने प्रयास जारी राखेका छन् । तर न्यौपाने यहाँ आउन मानिरहेका छैनन् ।
उपसचिवको अभावमा अहिले नगरपालिकाका उपलब्ध कर्मचारीमध्ये सिनियर कर्मचारी शिक्षा शाखाकी प्रमुख (अधिकृत आठौँ) लक्ष्मी शिवाकोटीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।