फाइल तस्बीर ।
मलंगवा – सर्लाहीको उत्तरी भेगमा हुस्सु हटेर घाम लाग्न थालेको छ ।
यस भेगमा पातलो मात्रामा हुस्सु लागिरहे पनि घाम समेत देखा पर्न थालेको हो । उत्तरी चुरेभेगका बस्ती, लालबन्दी, हरिवन, बागमतीसहित पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा पारिलोसँग घाम लाग्न थालेको स्थानीयले बताएका छन् ।
तर, सदरमुकाम मलंगवासहित दक्षिणी भेगका कविलासी, कौडेना, गोडैता, बलरा, ब्रम्हपुरी, पर्सा, हरिपूर्वालगायत क्षेत्रमा भने अहिले बाक्लो मात्रामा हुस्सु लागिरहेको हाम्रा संवाददाताहरुले जनाएका छन् । सर्लाहीमा प्राय ः उत्तरी भेगमा मौसम उघ्रिएर घाम लाग्दा होँचो भू–भागमा पर्ने दक्षिणी बेल्टमा हुस्सु लागिरहेको हुन्छ ।
गएको शुक्रबारदेखि बाक्लो मात्रामा हुस्सु लागेर स्याँठ चल्न थालेसँगै यस क्षेत्रमा कठ्यांग्रिदो चिसो हुन थालेको छ । चिसोले गरिव तथा विपन्न परिवार प्रभावित बनेका छन् ।
विद्यालय जाने बालबालिका मारमा परेका छन् भने वृद्धवृद्धा, अशक्त र बिरामीलाई चिसोले गाह्रो पारेको छ । चिसो छल्न ग्रामीण बस्तीका स्थानीयहरु घरमै आगो बालेर तापिरहेका छन् ।
हुस्सु लाग्न थालेपछि तोरी, आलु, गोलभेँडा र अन्य तरकारी बाली प्रभावित हुन थालेको किसानले बताएका छन् ।