लालबन्दी – सर्लाहीमा आज (शुक्रबार) बाट बाक्लो मात्रामा हुस्सु लागेर चिसो अझ बढेको छ ।
जिल्लाको उत्तरी चुरे, पूर्व पश्चिम राजमार्ग क्षेत्रका लालबन्दी, हरिवन, बागमती क्षेत्रमा बिहान बाक्लो मात्रामा हुस्सु लागेर विस्तारै घाम देखा पर्न थालिसकेको छ । सदरमुकाम मलंगवासहित दक्षिणी भेगका गोडैता, बलरा, पर्सा, हरिपूर्वा, रामनगरलगायत क्षेत्रमा बाक्लो मात्रामा हुस्सु लागिरहेको स्थानीयले बताएका छन् ।
हुस्सु, चिसो स्याँठ र मौसम धाम्मधुम्म भइरहँदा सर्लाहीमा चिसो बढिरहेको छ । चिसोले गरिब तथा विपन्न परिवार र मजदुर प्रभावित हुन थालेका छन् ।
तराई क्षेत्रमा मध्य मंसिरमा आएर क्रमि रुपमा चिसो बढ्न थालेको हो । यो बेला बालबालिका, वृद्धवृद्धा, अशक्त र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिको ख्याल गर्न चिकित्सकले सुझाव दिएका छन् ।