मलंगवा – सर्लाहीमा दिन प्रतिदिन कठ्यांग्रिदो चिसो बढ्दै गइरहेको छ ।
बाक्लो मात्रामा हुस्सु र शितलहर नचलेपनि २÷३ दिनदेखि भित्री रुपमा कठ्यांग्रिदो जाडो हुन थालेको हो । यस क्षेत्रमा आज पनि चिसो हावा चलेर कठ्यांग्रिने गरी चिसो छ ।
हुस्सु लागेकाले मौसम राम्रोसँग उघ्रिएको छैन् । चिसो बढ्दै जाँदा अतिविपन्न तथा गरिब परिवार प्रभावित बन्न थालेका छन् । ताता ओढ्ने–ओछ्याउने नभएका परिवार चिसोमा कठ्यांग्रिन थालेका छन् । मुसहर, डोम तथा अत्यन्त पिछडिएको परिवारमा यो चिसोमा ज्यादा समस्या हुने गरेको छ ।
यो चिसोमा गरिब परिवारका कतिपयको कठ्यांग्रिएरै ज्यान समेत जाने गरेको छ ।
चिकित्सकले चिसोबाट जोगिन हावा चलेको समयमा सकेसम्म भित्रै बस्न, न्याना कपडा लगाउन, झोलिलो र ताता खानेकुरा खान र चिसोबाट बच्ने अन्य उपाय अपनाउन सुझाव दिएका छन् ।