जिल्ला प्रहरी कार्यालय मलंगवा । (तस्बीर : उज्यालो अभियान)
राजघाट – बागमती नदीमा अवैध रुपमा उत्खनन गरिरहेका स्काभेटर र टिपर बरहथवा प्रहरीले नियन्त्रणमा लिएको छ ।
बागमती नगरपालिका–७, स्थित राजघाट नजिक पर्ने बागमती नदीको किनारबाट स्काभेटर लगाएर अवैध ढङ्गबाट नदिजन्य पदार्थ उत्खनन गर्ने सवारी प्रहरीले नियन्त्रणमा लिएको हो । नदी उत्खननमा संलग्न नम्वर खुल्न नसकेको एउटा स्काभेटरसहित मधेस प्रदेश ०३ –००१ क २४१४, मधेस प्रदेश ०३ –००१ क २६०२ र प्रदेश २ –०३ –००१ क १३१८ नम्बरको टिपर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ ।
नियन्त्रणमा लिइएको ती सवारी इलाका प्रहरी कार्यालय बरहथवामा राखिएको छ । प्रतिवन्धित क्षेत्रबाट नदिजन्य पदार्थको उत्खनन गर्ने सवारीलाई कारवाहीका लागि आज (बुधबार) जिल्ला समन्वय समितिको जिम्मा लगाइने प्रहरीले बताएको छ ।
सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीका विभिन्न घाटमा अवैध ढङ्गले गिट्टी, बालुवाको उत्खनन हुने गरेको स्थानीयले गुनासो गरेका छन् ।