logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

तत्कालै तलब नपाउने संकेत देखिएपछि धर्ना छाडेर विद्यालय फर्किए शिक्षक, १३ दिनपछि पठनपाठन सूचारु


  • उज्यालो अभियान

धर्नामा बसेका शिक्षक । (तस्बीर : उज्यालो अभियान)

हरिपूर्वा – सर्लाहीको हरिपूर्वाका शिक्षक १३ दिनपछि आज (मंगलबार) बाट विद्यालय खोलेर नियमित पठनपाठनमा लागेका छन् ।

गएको साउनदेखि तलब नपाउँदा व्यवहार नै डामाडोल भएको भन्दै शिक्षकले विद्यालय बन्द गरेर नगरपालिका कार्यालयमा धर्ना बसेका थिए । शिक्षकको आन्दोलनले मङ्सिर ६ गतेदेखि बन्द रहेको विद्यालय आजबाट खुलेको हो ।

नगरप्रमुख विनोदकुमार साह तेली र शिक्षा शाखाका प्रमुख जनक काफ्लेले नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर हुनासाथ शिक्षकको रोकिएको तलब खुवाउने प्रतिवद्धता जनाएपछि शिक्षकले आन्दोलन रोकेर पठनपाठन गराउन थालेका हुन् । यत्तिका दिनसम्म धर्नामा बस्दा पनि तत्काल तलब नपाउने छाँट देखिएपछि शिक्षकहरु नगरप्रमुख र शिक्षा अधिकृतको प्रतिवद्धता सुनेर बाध्य भई विद्यालय फर्किएका हुन् ।

हरिपूर्वा नगरपालिका–५, मा रहेको केश्वर गरिब जनता माध्यमिक विद्यालयका शिक्षक पवनकुमार झाले आजभोलीमै तलब नपाउने सङ्केत देखिएपछि निराश हुँदै बालबालिकाको भविष्यप्रति चिन्तित भई विद्यालय खोलेर पठनपाठन गराउन सुरु गरेको बताए ।

हरिपूर्वामा दुई सातासम्म १६ वटा सामुदायिक विद्यालय बन्द भए । यत्तिका दिनसम्म विद्यालय बन्द हुँदा पाँच हजार विद्यार्थी पठनपाठनबाट बन्चित हुनुपर्यो । हरिपूर्वामा नगर सभा हुन नसक्दा बजेट पारित भएको छैन् । प्रमुख प्रशासकीय अधिकृतको अभावमा नगरपालिका नै अस्तब्यस्त बनेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरिपूर्वा नगरपालिकामा मङ्सिर ८ गते प्रमुख प्रशासकीय अधिकृतका रुपमा उपसचिव वासुदेव खनाललाई खटाएको थियो । हाल शङ्खरापुर नगरपालिका काठमाडौँमा कार्यरत उपसचिव खनालले पारिवारिक कारण देखाउँदै हरिपूर्वा आउन इन्कार गरिरहेका नगरप्रमुख साहले बताए ।

राजनीतिक हस्तक्षेप र जनप्रतिनिधिबीचमै विवाद रहेको भन्दै हरिपूर्वामा कोही पनि उपसचिव प्रमुख प्रशासकीय अधिकृत भएर आउन मानेका छैनन् । आफू प्रमुख प्रशासकीय अधिकृत नपाएर अब हैरान नै भइसकेको नगरप्रमुख साहले उज्यालो अभियानसँग गुनासो गरे ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा यस नगरपालिकाको नगर सभा अनिश्चित बन्दै गएको छ । नगरसभाले बजेट ल्याउन नसक्दा तलब, भत्ता सबै रोकिएको छ भने आर्थिक गतिविधि नै नहुँदा विकासका काम ठप्प छन् । नगरपालिका र वडा कार्यालय संचालन गर्नै अप्ठेरो पर्न थालेको छ ।

हरिपूर्वा नगरपालिका संघीय सरकारका खानेपानी मन्त्री महिन्द्रराय यादवको गृह नगर तथा निर्वाचन क्षेत्र समेत हो । नगरप्रमुख साहले मन्त्री यादवले आफूलाई असफल भएको देखाउन कुनै पनि उपसचिवलाई यहाँ आउन नदिएको आरोप लगाउँदै आएका छन् ।